पोखरा । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले माघ २६ गते पोखरामा दबाब यात्रा कार्यक्रम गर्ने भएको छ । शिक्षाको समग्र सुधारका लागि ‘राष्ट्रव्यापी शैक्षिक अभियान २०८०’ देशभर सञ्चालन गरिरहेको परिषद्ले सबै प्रदेश केन्द्र र केही प्रमुख केन्द्रमा एकसाथ विद्यार्थी दबाब यात्रा कार्यक्रम गर्दैछ । सोही कार्यक्रम अन्तरगत पोखरामा समेत बृहत दबाबमुलक कार्यक्रम गरिने परिषद्ले नेपाल पत्रकार महासंघ कास्कीमा पत्रकार सम्मेलनको आयोजना गरेरनै जानकारी दिएको हो ।
शैक्षिक सुधारका लागि कार्यशाला अभियान सञ्चालन गरेको परिषदले आएका सुझावहरूलाई संकलन गरी माघ २८ गते सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला शिक्षा समन्वय एकाइ प्रमुखमार्फत् एक साथ शिक्षामन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम समेत तय गरेको शैक्षिक अभियान संयोजन समिति गण्डकीका संयोजक दीप्सन गुरुङले बताए ।
शिक्षाको समग्र सुधारका लागि “राष्ट्रव्यापी शैक्षिक अभियान २०८०” मूल मर्मका साथ अभियान चलिरहेको छ । माघ महिनाभर देशभर अभियान सञ्चालन गरिरहेको परिषद्ले अभियान पूर्व पौष पहिलो हप्तामा राष्ट्रव्यापी सर्वेक्षण सम्पन्न गरेको थियो । अभियानका लागि लोगो, पोष्टर, स्टिकर, आदि साहित्य तयारसँगै त्यसको वितरण देशव्यापी गरिएको समेत परिषद्ले जनाएको छ ।
गण्डकी प्रदेश सहित देशभरका कलेज र विश्वविद्यालयस्तरमा अन्तरक्रिया, चर्चा एवं बहसहरू सञ्चालन भइरहेको प्राज्ञिक विद्यार्थी परिषद् गण्डकी अध्यक्ष दीपक रेग्मीले बताए। यी कार्यक्रम मार्फत् शिक्षाको सुधारका लागि विभिन्न सुझाव संकलन भइरहेको उनले खुलाए ।
देशभरका अधिकांश आंगिक र सामुदायिक क्याम्पसमा मागपत्र दिवस मनाउने र सुधारका लागि सुझाव पेश गर्ने कार्यक्रम चलिरहेका मात्र नभएर केही मुद्दालाई लिएर केही केन्द्रमा धर्ना र अनसन बस्ने तयारी समेत भएको रेग्मीले बताए ।
आफूहरुले सञ्चालन गरेको राष्ट्रव्यापी सर्वेक्षणमा शिक्षण क्षेत्रसँग सम्बन्धित १० हजार जना शिक्षक, विद्यार्थी सहित सरोकारवालाले सहभागीता जनाएको परिषद्ले जनाएको छ । अभियान अन्तरगत गण्डकी प्रदेशमा समेत हरेक क्याम्पसमा अन्तररक्रिया र अन्तर विद्यालय हाजिरिजवाफ कार्यक्रम गरिसकेको जनाइएको छ ।
शिक्षामा बैदेशिक लगानीको अन्य गर्दै कुल बजेटको २० प्रतिशत बजेट विनियोजन गर्नुपर्ने, माध्यमिक तह सम्मको शिक्षा नि:शुल्क हुने व्यवस्था अनिवार्य कार्यान्वयन गर्नुपर्ने, प्राध्यापक नियुक्तिमा अनिवार्य योग्यता परिक्षा उत्तिर्ण गर्नुपर्ने, अनुमतिबिना र नियम विपरित क्याम्पसको खारेजी, प्रभावकारी शैक्षिक पात्रोको निर्माण गर्नुपर्ने, कुलपति प्रधानमन्त्री रहने व्यवस्था खारेज गर्नुपर्ने लगायतका मागहरु परिषद्ले उठाउदै आएको छ ।
प्राज्ञिक विद्यार्थी परिषद् पोखरा महानगर सचिव बिप्लवी न्यौपानेले सञ्चालन गरेको पत्रकार सम्मेलन कार्यक्रममा स्वागत गण्डकी प्रदेश संगठन सचिव नारायण तिमिल्सिनाले गरेका थिए ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले परिषद्ले उठाएका मुद्दाहरु शैक्षिक क्षेत्र सुधारका लागि उपयुक्त्त रहेको भन्दै अभियानको सफलताको शुभकामना दिँदै डिजिटल क्याम्पियनमा समेत जोड दिन आग्रह गरिन् । समन्वयको अभावमा परिषदले सञ्चलान गरेको कार्यक्रमको प्रचार प्रसार हुन नसकेको आफूलाई महशुस भएको भन्दै त्यसलाई सुधार गर्न सके परिषद्ले गर्ने गतिविधि सबैमाझ पुग्ने बताइन् ।















