राजाराम पौडेल, पोखरा । ‘दयारानी’ रिलिज हुने निश्चित भएपछि उत्साहित भएको फिल्म युनिटमा थप जोश थपिएको छ । होमटाउनका दर्शकले रुचाएको कारण उनीहरुको उर्जा थपिएको हो । आइतबार पोखराको मिडटाउन ग्यालरीयामा फिल्म प्रिमियर शो मार्फत देखाइएको थियो । प्रिमियर शो मार्फत फिल्म हेर्न पुगेका दर्शकले फिल्म सुन्दर बनेको भन्दै हेर्नको लागि आग्रह समेत गरेका छन् । अंहकार बोकेका श्रीमान र मायालु श्रीमतीको कथाले दर्शकलाई बाध्न सफल भएको छ ।
प्रिमियर शो को उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फिल्म फरक खालको स्वादमा बनेको भन्दै तारिरफ गरे । उनले नेपाली फिल्म क्षेत्रमा यो एउटा उपहार रहेको बताए । ‘पोखरा आफैमा फिल्म स्टुडियो हो, फिल्म क्षेत्रको लागि चाहिने केही भौतीक पूर्वाधार बनाउन पर्छ भने पनि चलचित्र क्षेत्रका साथीहरुसँग बसेर सहकार्य गर्न तयार छौं’ उनले भने ।
गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री किरण गुरुङले फिल्म राम्रो बनेको बताए । फिल्म सबै कुराको मिश्रणले सुन्दर भनेको भन्दै तारिफ गरे । आफूले कम मात्रामा फिल्म हेर्ने गरेको कारण दर्शकलाई कस्तो फिल्म पर्छ थाहा नभएको भएपनि आफ्नो हिसाबले मुल्याकंन गर्दा फिल्म अत्यन्त राम्रो बनेको भन्दै हेर्नको लागि सबैलाई आग्रह समेत गरे ।
मादी गाउँपालिका अध्यक्ष देवीजंग गुरुङले फिल्म राम्रो लागेको बताए । उनले स्थानीय दिवसको अवसरका दयारानीको टीमलाई गाउँमानै बोलाएर स्वागत गरिने बताए । द एज व्याण्डका मुख्य भोकलिष्ट जीवन गुरुङले बबाल स्क्रिप्टमा दामी फिल्म बनेको भन्दै तारिफ गरे ।
यहीं फिल्ममा समावेश एउटा गीतमा आवाज र संगीत भरेर फिल्मी संगीततर्फको यात्रा समेत सुरु गरेका विनोद वानियाले टीममा जोडिन पाएकोमा खुशी व्यक्त गरे । ‘फिल्म राम्रो बनेको छ, सही समयमा रिलिज भएको कारण यो फिल्मबाट माओत्से गुरुङको लोकप्रियता बढाउने विश्वास छ’ उनले भने ।
फिल्ममा समावेश गीतका रचनाकार मन क्षेत्रीले फिल्म समग्रमा ठिक रहेको प्रतिक्रिया दिए । मादी गाउँपालिकामा छायाकंन गरिएको फिल्मले त्यहाँको स्थानीय कुरालाई ब्राण्डीङ गरेको मात्र नभएर फिल्ममा भएका केही अर्गानिक कुरा, ठेट बोलीचाली, संस्कृतिलाई फिल्म मार्फत प्रस्तुत गरिएकोले राम्रो बनेको खुलाए ।
विम्बकवी प्राज्ञ रमेश श्रेष्ठले फिल्मले उठाएको विषयवस्तु गहन रहेको भन्दै सन्देश छर्न सफल भएको बताए । स्थापित कलाकारको टीमले गरेका काम भएको कारण खोट लगाउने ठाउँ नदेखेको र पार्ट २ को भने आवश्यकता महशुस गरेको सुनाए । ‘माओत्से राम्रो कलाकार हो, उसले राम्रो निर्देशक पनि हुँ भन्ने प्रमाणित गरेको छ, मलाई खुशी लाग्यो’ श्रेष्ठले भने ।
अभिनेत्री दीया पुनले फिल्मबाट भएको प्रतिक्रियाले खुशी थपेको सुनाइन् । फिल्ममा दयाहाङ राईसँग आफूले गरेको फरक खालको माया दर्शकले देख्न पाउने खुलाइन् । नेपाली फिल्मलाई माया गर्नुपर्नेमा उनको जोड छ । ‘अडियन्सले मैले गरेको काम मन पराइदिनु भयो भने त्यसमानै सन्तुष्ट हुन्छु’ उनले भनिन् ।
निर्देशक तथा लेखक माओत्से गुरुङले आफ्नै साथीभाइ इष्टमित्रको वास्तविकतालाई फिल्म मार्फत उठाएको बताए । सन्तान नभएका पुरुषको मनोविज्ञानलाई रुचिकर कथामा बुनेर अडियन्स मार्फत पु¥याउने लक्ष्यका साथ फिल्म बनेको खुलाए । रोमान्टिक शैलीमा सबैले बुझ्ने खालको, रमाइलो टाइपको फिल्म भएको कारण फिल्मले दर्शकको माया पाउने उनको विश्वास हो । कथा लेख्ने क्रममा सोचेको पात्र नै दयाहाङ राई र दीया पुन भएको कारण उनीहरुलाई मुख्य भूमिकामा राखेको बताए ।
होमटाउनलाई माया गर्ने उनले यहाँका कलाकारलाई समेत अवसर समेत दिएका छन् । फिल्मी क्षेत्रमा पोखराको उपस्थिती बढाउने निरन्तर लागिरहने उनको वाचा छ । ‘पोखरा भनेको मेरो होमटाउन हो यसलाई माथि पुर्याउन म निरन्तर लागिरहन्छु’ उनले भने ।
दयारानी फिल्म यहीं माघ २६ गतेबाट देश तथा विदेशमा एकसाथ प्रर्दशनमा आउन लागेको छ । फिल्म प्रदर्शन गर्नको लागि निर्माण युनिटले ४ वर्ष भन्दा बढी समय पर्खनुपर्यो । तर, प्रिमियर शो मार्फत पाएको प्रतिक्रिया र विदेशबाट आएको मागले समेत फिल्म युनिटलाई आशाको सञ्चार गराएको छ ।
फिल्ममा दयाहाङ राई, दीया पुन, बिजय बराल, पुष्कर गुरुङ, प्रमिस गुरुङ, नयन गुरुङ, श्रृसा कुँवर, सुर्य सुनुवार, राजेन्द्र थापा, टिकाराम घले, सीता गुरुङ आदि कलाकारको अभिनय रहेको छ । कास्कीको याम्जाकोट र पोखरा आसपास गरेर जम्मा २२ दिनमा छायाकंन सकिएको फिल्म प्रदर्शनमा आउन भने लामो समय लाग्यो । यस अगाडि ९ वटा गुरुङ फिल्म निर्देशन गरिसकेका माओत्सेले मुलधारको नेपाली फिल्मको निर्देशकको रुपमा समेत स्थापित बन्ने छनक देखाएका छन् । फिल्मको कथाले यसको पार्ट २ समेत आउने कुरा दर्शाइसकेको कारण उनले अर्को फिल्मबाट समेत थप क्षमता प्रदर्शन गर्ने अपेक्षा समेत गर्न सकिन्छ । नेपाली फिल्मी क्षेत्रमा कलाकारको रुपमा समेत माओत्सेको व्यस्तता कायमै छ । माओत्से गुरुङ फिल्मको ब्यानर तथा बाँसुरी फिल्मकोस्को प्रस्तुतीमा यो फिल्म निर्माण भएको हो ।
मोहन गुरुङ टिला, न्यू आइटी भेन्चर जापान, किरण गुरुङ, केन्द्र लिम्बु, मेजर खुशीमान गुरुङ, सुरेन्द्र गुरुङ, सुर्य प्रकाश गुरुङले फिल्ममा लगानी गरेका छन् । कहिले कोरोना त कहिले समय जुधेर अनि कहिले निर्देशक गुरुङको व्यस्तताका कारण समेत फिल्म रिलिजको मिति पटक–पटक धकेलिएको थियो । अहिले पनि फिल्म जुध्न पुगेपनि फिल्म हेरेका दर्शकले गर्ने माउथ पब्लिसिटीका कारण दर्शकलाई हलसम्म तान्ने निर्माण युनिटको विश्वास छ ।


















