आहा! रारा पोखरा गोल्डकपको उपाधि जित्दै आर्मीले रच्यो इतिहास, थ्रीस्टार उपविजेता

आहा! रारा पोखरा गोल्डकपको उपाधि जित्दै आर्मीले रच्यो इतिहास, थ्रीस्टार उपविजेता

राजाराम पौडेल, पोखरा । विभागीय टोली त्रिभुवन आर्मी क्लबले आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा नयाँ इतिहास रच्न सफल भएको छ । पाँचौपटक प्रतियोगिताको फाइनलमा पुगेको टोलीले थ्रीस्टार क्लब विरुद्ध उत्कृष्ट खेल पस्कदै ३–० गोलअन्तरको जित निकाल्दै उपाधि चुम्न सफल भएकाे हो ।

खेलको ३९ औं मिनेटमा कप्तान जीलेप्सी जंग कार्कीले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले सिद्धान्त चौधरीले कर्नर प्रहार गरी दिएको बललाई हेड मार्फत जाली चुमाउन सफल भएका थिए । थ्रीस्टारका गोलकिपर अभिषेक बरालले उनको प्रहार रोक्ने कुनै अवसर पाएनन् । खेलको ८३ औं मिनेटमा फत्तेमान घलेले गोल गर्दै अग्रता दोब्बर पारे । इञ्जुरी समयमा बसन्त जिम्बाले गोल गर्दै आर्मीलाई ३–० को अन्तरमा २३ औं सस्करणको यो प्रतियोगिताको उपाधि जिताउन सफल भए । थ्रीस्टारले पाएका केही अवसरलाई सदुपयोग गर्न नसक्दा पराजित हुन पुग्यो । फाइनल खेलमा जीलेप्सी जंग कार्की मेन अफ दि म्याच हुन सफल भए ।

फाइनल प्रतियोगिता पछि प्रतिक्रिया दिँदै आर्मीका कोच मेघराज केसीले फाइनल खेल सुन्दर भएको भन्दै थ्रीस्टारको सामान गर्न सहज भने नभएको अनुभव सुनाए । ‘फस्ट हाफमा एउटा गोल निस्कियो, थ्रीस्टारले प्रतिष्पपर्धात्मक खेल खेलिरहेको थियो, सेकेण्ड र थर्ड गोल निस्किएपछि भने सजिलो भएको हो’उनले भने ।

खेलाडीको ‘स्टामिना’ र ‘टीमवर्क’का कारण बाजी मार्न सहज भएको उनको भनाई थियो । प्रशिक्षक केसीले प्रशिक्षकको रुपमा विजेता बनेर ह्याट्रिक गर्ने लक्ष्य समेत पुरा गरेका छन् । उनी यसअगाडि दूईपटक थ्रीस्टारले उपाधि जित्दा प्रशिक्षक थिए ।
खुलेर खेल्न दिएको कारण फाइनलमा जित सहज भएको उनको बुझाइ छ । आर्मीमा अधिकांश नयाँ खेलाडी रहेकोले टीमलाई मजबुत बनाउने क्रममा यस्ता उपाधि जित्दा खेलाडीमा उर्जा थपिने भनाई उनको थियो ।

थ्रीस्टारका कोच विक्रम लामाले प्राविधिक रुपमा राम्रो भएपनि खेल दौरानमा भएका केही गल्तीका कारण पराजित हुन पुगेको बताए । ‘हामीले बनाएको योजना अनुसारको खेल पहिलो हाफमा पस्कन सकेनौ, जति पनि गोल खाइएको छ हाम्रो गल्तीले खाइयो, पर्फमेन्सवाइज सन्तुष्ट छु’ उनले भने ।

आफूहरुलाई फिजिकलरुपमा गाह्रो हुनेवाला छ भनेर पहिल्यै थाहा भएकोले रणनीतिक रुपमा केही परिवर्तन गरेको भएपनि पाएका मौकालाई सदुपयोग गर्न नसक्नु हारको कारण भएको सुनाए । आफ्नो टीमले गरेको प्रदर्शनबाट सन्तुष्ट रहेको उनले बताए । ‘यस्तो प्रेसरमा पनि कसरी खेल्नुपर्छ भन्ने कुरा तथा  फिजिकल र मेन्टल्ली कसरी तयार हुनुपर्छ भन्ने सिक्ने अवसर खेलाडीले प्राप्त गरे, यो टीमबाट आजको भन्दापनि भोलीपर्सीको आशा गरेका छौं, त्यसको लागि उपलब्धिमुलक नै रह्यो’ उनले भने । थ्रीस्टारले यहीं टीमलाई नै अगाडि बढाउने बताएका प्रशिक्षक लामाले अब हेटौडामा हुने प्रतियोगितामा खेल्ने समेत जनाए ।

उपाधि जितेको आर्मीले नगद १२ लाख १ हजार हात पार्‍यो भने थ्रीस्टारले ६ लाख १ हजारमा चित्त बुझायो । प्रतियोगितामा ३ गोल गरेका आर्मीका दीनेश हेम्जनले सर्वाधिक गोलकर्ताको पुरस्कार पाउँदा जाउलाखेल युथ क्लबले फेयर प्लेको पुरस्कार प्राप्त गर्‍यो ।
सर्वोत्कृष्ट खेलाडी बन्दै आर्मीका विमल पाण्डेले टेल जि कम्पनीको टाइगर ब्राण्डको इलेक्ट्रिक स्कुटर समेत जिते ।

विधागत पुरस्कार तर्फ पनि आर्मीकै वर्चश्व रह्यो । बेष्ट किपरमा समित श्रेष्ठ, बेष्ट डिफेण्डरमा विमल पाण्डे, बेष्ट स्ट्राइकरमा जीलेप्सी जंग कार्की र बेष्ट प्रशिक्षक मेघराज केसी घोषित भए । थ्रीस्टारका विवेक पौडेलले बेष्ट मिडफिल्डर बन्न सफल भए । विधागत पुरस्कार जित्नेले नगद २५ हजार हात पारे । प्रशिक्षक केसीले आफूले पाएको नगद पुरस्कार मध्ये २० हजार सहारा फुटबल अक्षयकोष र ५ हजार खेलाडीको लागि सहयोग गरे । पब्लिक च्वाइसको पुरस्कार आर्मीका भरत खवास र थ्रीस्टारका अभिषेक बरालले हात पारे ।
थ्रीस्टार उद्घाटन खेलमा सहारा क्लबलाई २–१, क्वाटर फाइनलमा भुटानको पारो फुटबल क्लबलाई २–० र सेमिफाइनलमा जाउलाखेललाई १–० ले हराउँदै फाइनलमा पुगेको थियो ।

त्रिभुवन आर्मी क्लबले प्रि–क्वाटरमा राइजिङ स्टार फुटबल क्लबलाई १–०, क्वाटर फाइनलमा संकटालाई ३–०, सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड फुटबल क्लबलाई २–१ ले हराउँदै फाइनल पुगेको थियो । आर्मी यसअघि २०६५, २०६६, २०७२ र २०७५ मा फाइनलमा पुगे पनि उपाधि विमुख रहदै आएको थियो ।

थ्रीस्टार भने यसअघि छ पटक फाइनलमा पुग्दा पाँच पटक उपाधि चुमिसकेको टीम थियो । थ्रीस्टार २०६३, २०६७, २०६९, २०७१, २०७४ र २०७५ मा फाइनलमा पुगेकोमा २०७४ मा बाहेक सबै फाइनलमा विजयी भएर उपाधि जितेको थियो । पाँच वर्ष अगाडि फाइनलमा थ्रीस्टारसँग पराजित भएको बदला समेत यसपालि आर्मीले लिन सफल भयो ।

२०५८ सालबाट सुरु भएको यो प्रतियोगिताको उपाधि मनाङ र पुलिसले ६, ६ पटक जितेका छन् । यसैगरी संकटा क्लबले दुईपटक, अफ्रिकन युनाइटेड, सहारा र एपीएफले समान एक–एक पटक प्रतियोगिताको उपाधि चुमेका छन् । यसपालीको प्रतियोगीतमा एक विदेशी सहित कुल १२ टीमले सहभागिता जनाएका थिए ।

बिजेता तथा उपविजेतालाई अखिल नेपाल फुटवल संघका अध्यक्ष पंकजबिक्रम नेम्वाङ, सहारा क्लवका संस्थापक अध्यक्ष वसन्त थकाली, वर्तमान अध्यक्ष केशवराज बराल, सहारा युकेका अध्यक्ष कृष्ण गुरूङ, हिमश्री फुड्सका निर्देशकद्वय प्रकाश केसी र किरण केसी, प्रदेश खेलकुद परिषद गण्डकीका निमित्त सदस्य सचिव केशव पाठक, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल, जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरणबहादुर बानियाँ लगायतले पुरस्कार वितरण गरेका थिए ।

२०५५ सालमा स्थापित सहारा क्लब पोखराले आयोजना गर्ने यस प्रतियोगितालाई पहिलो संस्करणदेखी अहिलेसम्म निरन्तर रुपमा मुख्य प्रायोजकको रुपमा बहुचर्चित मोफसलको व्यापारिक प्रतिष्ठान हिमश्री फुड्स प्रालि को उत्पादन आहा तथा रारा तयारी चाउचाउले गरेको छ ।

विगत २०६१ साल देखि आवासिय रुपमा निःशुल्क स्वास्थ्य, शिक्षा दिक्षा लगायत फुटबल प्रशिक्षण समेत सहारा फुटबल एकेडेमी पोखरा–१७, दोविल्लामा प्रदान गरिदैआईरहेको छ । । हाल चौँथो व्याचको एकेडेमीमा ८ जिल्लाका १४ जना बालकहरु आश्रित छन । प्रतियोगिताबाट बचत भएको रकम एकेडेमीको लागि खर्च गरिने क्लबका अध्यक्ष केशबराज बरालले बताए । कार्यक्रममा बोल्दै अखिल नेपाल फुटवल संघका अध्यक्ष पंकजबिक्रम नेम्वाङले २४ औं संस्करणको प्रतियोगिताको लागि प्रक्रिया पुर्‍याएर निवेदन दिनासाथ समय उपलब्ध गराउने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्