पोखरा । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मुलुक बुहआयामिक संकटको सम्मुख रहेको बताएका छन् । यो संकटले समाजमा छटपटी, व्यापक नैराश्यता र अन्यौल थपेको उनको दावी छ । प्रेस चौतारी नेपाल कास्की शाखाले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले जनतालाई भरोसा दिलाउन नसक्दा यस्तो अवस्था आएको सुनाए ।
‘सरकारको पहिलो काम भनेको जनातामा भरोसा दिलाउने हो, कोही नभएपनि सरकारले हामीलाई संरक्षण गर्छ, अप्ठ्यारोमा परेको बेला राज्य छ हाम्रो निम्ति भन्ने एउटा विश्वास जोगाउनु सरकारको पहिलो कर्तव्य हो, तर, सरकार त्यस कुरामा चुक्दै गएको छ’ उनले भने ।
युवामा नेपाल अब बन्दैन यहाँ बसेर भविष्य छैन भन्ने नैराश्यता थप्ने कार्यमा सरकार उद्धत रहनु चिन्ताको विषय भएको उनले बताए ।
अर्को प्रसंगमा नेपालको अर्थतन्त्र संकटमा रहेको दावी गरे । नेपालको इतिहासमा पहिलोपटक सरकारले आर्थिक वर्षको पहिलो महिनादेखिनै आन्तरिक ऋण उठाउन सुरु गरेको र अहिलेसम्म जारी रहेको भन्दै त्यस्तो ऋणले बल्लबल्ल कर्मचारीलाई तलब खुवाउन पुगेको बताउँदै विकासका सबै काम ठप्प भएको बताए ।
‘आर्थिक मन्दी छ, व्यवसाय बन्द भएका छन्, राजश्व संकलन घटेको छ, मुख्य शहरमा सटर र फ्ल्याट खाली भइरहेका छन्’ उनले भने ।
सरकारले भ्रष्टाचार सम्बन्धि अभियान भन्दै विपक्षीलाई तर्साउन र आफ्नालाई बचाउन खोजेको बताए । ललितानिवास काण्ड, सुन तस्करी काण्ड, छाला जुत्ता कारखानाको जग्गाको प्रकरणका आरोपितलाई छुटाउने कार्यमा सरकार आफैं सम्लग्न हुनुबाट त्यसको पुष्टि हुने उनले खुलाए ।
उपमहासचिव ज्ञवालीले प्रधानमन्त्री र पर्यटनमन्त्रीले जातीय सद्भाव खल्बल्याउन लागिरहेको समेत आरोप लगाए । ‘सारमा भन्ने हो भने देशको समग्र परिस्थिति बाह्य सम्बन्धको दृष्टिले, अर्थतन्त्रको सुचकको दृष्टिले, सामाजिक सद्भावको दृष्टिले, इन्सिच्युसनहरुको दृष्टिले जोखिमपूर्ण अवस्थामा छ’ उनले थपे । यो सबै कुराको लाभ पश्चगामी शक्तिहरुले लिएको ठोकुवा उनको थियो ।
यस्तो संकटको अवस्थाबाट देशलाई मुक्त गराउन सरकारको विकल्प खोज्ने बेला भइसकेको समेत बताए । देशको सबैभन्दा ठुलो पार्टी कांग्रेसको देशका यावत विषयहरुमा देखिएको मौनता, सहमति र फड्के किनारामा साक्षी आफैमा एउटा अनौठो लाग्दो विषय भएको धारणा राखे। जसको फाइदा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले लिएको उनले सुनाए ।
‘बेतिथिको विरुद्ध जनताकोबीचमा जाने एमालेको तयारी रहेको छ, सातवटै प्रदेशमा विरोध प्रदर्शन सहित जनदबाब सिर्जना गर्ने र संसदमा समेत बुलन्द आवाज उठाउँछौ’ उनले भने ।
पूर्व परराष्टमन्त्री समेत रहेका ज्ञवालीले देशको बाह्य सम्बन्धमा सरकारले गम्भिर विचलन ल्याएको समेत आरोप लगाए । वर्तमान गठबन्धन सरकारले नै देश बन्दैन भन्ने मनोविज्ञान निर्माण गरेर युवालाई देश छोड्ने स्थिती बनाउदै गएको आरोप समेत उनले लगाए । सरकारले प्रभावशाली कुटनितिक पहलद्धारा द्धन्द्धमा फसेका नेपालीको जीवन रक्षा गरी नेपाल फर्काउनु पर्नेमा उनको जोड थियो ।
संसदको अंकगणितमा आफूहरु पछि रहेको कारण विभिन्न राजनीतिक दललाई अपिल गरिरहेको बताएका उनले देशको यस्तो स्थितीले पनि राजनीतिक दललाई नदुख्ने हो भने साह्रै लज्जास्पद विषय बन्ने खुलाए ।
प्रेस चौतारी नेपाल कास्की शाखाका कार्यबहाक अध्यक्ष मोतीसागर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रञ्जन अधिकारी क्षेत्रीले गरेका थिए ।















