आर्मी पाँचौपटक आहा! रारा गोल्डकपको फाइनलमा, नयाँ इतिहास बनाउने लक्ष्य

आर्मी पाँचौपटक आहा! रारा गोल्डकपको फाइनलमा, नयाँ इतिहास बनाउने लक्ष्य

राजाराम पौडेल, पोखरा । विभागीय टोली त्रिभुवन आर्मी क्लब पाँचौ पटक आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । हालसम्म उपाधि चुम्न नसकेको आर्मीले बिहीबार पोखरा रंगशालाको फुटबल मैदानमा भएको अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा ए डिभिजन लिग विजेता चर्च व्वाइज युनाइटेड क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै थ्रीस्टार क्लबसँग उपाधि भिडन्त गर्ने निश्चित गरेको हो ।

खेलको ६१ औं मिनेटमा दीनेश हेम्जनले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाएका थिए । चर्च ब्वाइजका खेलाडी सन्तोष खत्रीले लडाएपछि झण्डै २५ यार्ड टाढाबाट पाएको फ्रिकिकलाई ‘ग्राउण्ड सट’ प्रहार गरेर गोलकिपर सन्तोष महतलाई बल रोक्ने कुनै अवसर नदिई जाली चुमाएका थिए । तर, अन्तिम समयसम्म अग्रता जोगाउन भने आर्मीले सकेन । खेलको ८३ औं मिनेटमा चर्च ब्वाइजका समिर तामाङले आर्मीका दुईजना डिफेन्स र गोलकिपर समित श्रेष्ठलाई छलाउदै सहजै गोल गरेर खेल बराबरीको अवस्थामा पुर्‍याएका थिए । त्यसपछि दुवै टीमबाट भएका प्रयास सफल हुन नसक्दा खेल अतिरिक्त समयतर्फ धकेलियो ।

अतिरिक्त समयको ९ औं मिनेटमा बसन्त जिम्बाले दिएको पासलाई सदुपयोग गर्दै आर्मीका रश बहादुर मगरले हेड मार्फत गोल गर्दै टीमलाई पुनः अग्रता दिलाए । त्यसपछि दुवैतर्फबाट केही प्रयास भएपनि गोलमा परिणत हुन नसक्दा आर्मी २३ औं संस्करणको यो प्रतियोगिताको फाइनलमा पुग्न सफल भयो । खेलमा आर्मीका विमल पाण्डे मेन अफ दि म्याच हुन सफल भएका थिए ।

आर्मी यसअघि २०६५, २०६६, २०७२ र २०७५ मा फाइनलमा पुगेको थियो । तर, उसले हालसम्म उपाधि चुम्न भने सकेको छैन । थ्रीस्टार भने यसअघि छ पटक फाइनलमा पुग्दा पाँच पटक उपाधि चुमिसकेको छ । यसपाली २०७५ मा फाइनलमा पराजित भएको बदला थ्रीस्टार क्लबसँग लिएर नयाँ इतिहास रच्ने मौका आर्मीलाई मिलेको छ । त्यतिबेला निर्धारित समयमा २-२ को बराबरी भएपछि पेनाल्टी सुटआउटमा ५-४ ले थ्रीस्टारले बाजी मारेको थियो ।  थ्रीस्टार र आर्मीबीचको फाइनल प्रतिष्पर्धा माघ २० गते शनिबार दिउँसो १ बजे पोखरा रंगशालामा सञ्चालन हुने आयोजक सहारा क्लबले जनाएको छ ।

खेल पश्चात प्रतिक्रिया दिँदै आर्मीका प्रशिक्षक मेघराज केसीले चर्च ब्वाइज राम्रो टीम भएको कारण खेल अतिरिक्त समयसम्म पुगेको बताए । म्याचको प्रेसर तथा टीम सेट मात्र नभएर सिनीयर खेलाडी घाइते हुँदा जित हात पार्न आफूहरुलाई कठिन भने भएको उनले सुनाए । दुई टीमबीचको कडा प्रतिष्पर्धाको कारण सेमिफाइनल खेल हेर्न लायक भने भएको उनको दावी थियो । बिहीबारको खेलमा केही खेलाडी घाइते भएपनि सकभर फाइनलमा उनीहरुले नै खेल्ने र खेल्न नसक्ने अवस्था आइहालेमा पर्याप्त खेलाडी भएको कारण समस्या भने नआउने बताए । कप्तान भरत खवास र दीनेश हेम्जन बिहीबारको खेलमा घाइते भएका थिए ।

१४ वटा ए डिभिजन क्लब मध्ये ९ वटामा प्रशिक्षकको रुपमा काम गरिसकेका केसीले फाइनलमा उपाधि जिताउन मेहनत गर्ने बताए । ‘नेपालमा धेरैं सिनियर खेलाडी नभएर सबै टीममा जुनियर तर प्रतिभा भएका खेलाडी छन्, तिनीहरुमा अनुभबको भने कमी छ, परिपक्क भैसकेका छैनन्, थ्रीस्टारसँगको फाइनल हेर्न लायकको हुनेछ’ उनले भने । २०७५ सालमा थ्रीस्टारसँग फाइनलमा पराजित भएको आर्मीले यसपाली भने उपाधि जितेर नयाँ इतिहास लेख्ने तयारीमा रहेको समेत उनले दावी गरे । ‘पुरानो इतिहास हामी दोहोर्‍याउदैनौ, नयाँ इतिहास लेख्ने हिसाबको तयारी गर्छौ’ प्रशिक्षक केसीले भने ।

चर्च ब्वाइज युनाइटेड क्लबका कप्तान कमल श्रेष्ठले आफ्नो टीमका सबै खेलाडीले खेल राम्रो खेल्दापनि अनुभवमा भएको कमीको कारण पराजित हुन पुगेको बताए । ‘अनुभवको कमी छ, भाइहरुलाई विस्तारै माथि लाने हो, कोही त पहिलोचोटी यो प्रतियोगिता खेलेका पनि छन्’ उनले भने । सिनियर खेलाडीसँग खेल्दा आफ्नो टीमका खेलाडीमा अलिकति डर समेत भएको हुनसक्ने उनको तर्क थियो । छोटो तयारीमा बनेको टीम भएको र फिटनेसको कमीले दोस्रो  गोल खान पुग्दा पराजित भएको बताए । ‘आगामी दिनमा यो टीमले राम्रो खेल्नेछ, अहिले छोटो समयमा टीम बनेको कारण तालिम राम्रो भएको थिएन’ कप्तान श्रेष्ठले भने ।

प्रतियोगिताको विजेताले १२ लाख, उपविजेताले ६ लाख रुपैयाँ पुरस्कार पाउने छन् । उत्कृष्ट पाँच विधाका खेलाडी र सर्वाधिक गोलकर्तालाई जनही २५ हजार रुपैयाँ पुरस्कार, हरेक खेलको म्यान अफ द म्याचलाई आठ हजार तथा फाइनलका म्यान अफ दि म्याचलाई १० हजार रुपियाँ प्रदान गरिने आयोजकको भनाइ छ ।
पहिलो प्रतियोगिता क्याराभान गोल्डकपको नाउँमा खेलाइएको थियो भने त्यसपछि लगातार १० वर्ष आहा गोल्डकप, त्यसपछि आहा रारा गोल्डकप हुँदै अहिले आहा रारा पोखरा गोल्डकपका नाउँमा प्रतियोगिता सञ्चालन गर्ने गरिएको छ । माघ ९ गतेबाट पोखरा रंगशालाको फुटबल मैदानमा सञ्चालन भइरहेको प्रतियोगीतमा एक विदेशी सहित कुल १२ टीमले सहभागिता जनाएको क्लब अध्यक्ष केशवराज बरालले जनाए ।

२०५५ सालमा स्थापित सहारा क्लब पोखराले आयोजना गर्ने यस प्रतियोगितालाई पहिलो संस्करणदेखी अहिलेसम्म निरन्तर रुपमा मुख्य प्रायोजकको रुपमा बहुचर्चित मोफसलको व्यापारिक प्रतिष्ठान हिमश्री फुड्स प्रालि को उत्पादन आहा तथा रारा तयारी चाउचाउले गरेको छ ।

विगत २०६१ साल देखि आवासिय रुपमा निःशुल्क स्वास्थ्य, शिक्षा दिक्षा लगायत फुटबल प्रशिक्षण समेत सहारा फुटबल एकेडेमी पोखरा–१७, दोविल्लामा प्रदान गरिदैआईरहेको छ । । हाल चौँथो व्याचको एकेडेमीमा ८ जिल्लाका १४ जना बालकहरु आश्रित छन । प्रतियोगिताबाट बचत भएको रकम एकेडेमीको लागि खर्च गरिने क्लबले जनाएको छ ।

तस्बिर: राधिका क‌ँडेल

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्