नेपाली सिनेमाको स्वाद अस्पतालको खाना जस्तो: मनोज पण्डित

नेपाली सिनेमाको स्वाद अस्पतालको खाना जस्तो: मनोज पण्डित

राजाराम पौडेल,पोखरा । नेपाली सिनेमाको स्वाद अस्पतालको खाना जस्तो भएको चलचित्र निर्देशक तथा समीक्षक मनोज पण्डितले बताए ।

चलचित्र पत्रकार संघ नेपाल कास्कीले कास्कीको सिक्लेसमा आयोजना गरेको सिने संवादको ‘नेपाली सिनेमाको स्वाद कस्तो छ कस्तो हुनुपर्छ’ सेसनमा बोल्दै उनले यस्तो बताएका हुन् । अस्पतालमा पाइने खाना स्वस्थकर भएपनि चलचित्रको स्वाद भने अस्वस्थकर रहेको सुनाए ।
उनले नेपाली चलचित्रका पात्र स्वतन्त्र नभएर लेखक तथा निर्देशकको दास भएको ठोकुवा गरे । जसका कारण पात्रले खुलेर काम गर्न नसकेको बताए । चलचित्र आकर्षक बनाउन पात्रलाई स्वतन्त्र रुपमा छोड्नुपर्ने उनको भनाइ छ ।

‘नेपाली चलचित्रमा पात्रमा संघर्ष देखिदैन, चलचित्र राम्रो हुन पात्रलाई स्वतन्त्र छोडिदिनु पर्छ’ उनले भने ।
साउथ इण्डियन चलचित्र पात्र बलियो बनाएको कारण दर्शकको रोजाइमा पर्ने गरेको उदाहरण दिँदै पात्रलाई बलियो बनाउन सुझाए । हाल बनेका नेपाली चलचित्रमा आधारभूत कुरा नै समावेश नहुने गरेको दावी गरें। बौद्धिकता अभावको कारण समेत चलचित्र क्षेत्र पछाडि परेको बताएका उनले दर्शकलाई सफलताको कथा र आशाको सञ्चार गर्न सक्नुपर्ने आवश्यकता औल्याए । निर्माता, निर्देशक र लेखककै कारण चलचित्र राम्रो बन्न नसकेको उनको तर्क थियो। ‘इगो’ का कारण समेत समस्या भएको अनुभव सुनाए ।

रंगकर्मी तथा चलचित्र निर्देशक अनुप बरालले नेपाली सिनेमाले जति फड्को मार्नुपर्ने थियो त्यति फड्को मार्न नसकेको सुनाए । सिनेमाले दर्शकलाई सिकाउने नभएर महसुस गराउने सामर्थ्य राख्ने बताए । जसको लागि दर्शकको चेतनास्तर बढाउनुपर्नेमा उनको जोड छ ।

अभिनेत्री दीया मास्केेले नेपाली चलचित्रले बजेटका कारण समेत वास्तविक स्वाद पस्कन नसकेको बताइन् । सिमित घेरामा रहेर चलचित्र बन्ने गरेको कारण अब सो घेरा तोड्नुपर्ने जोड दिइन्। सिनेमाले उठाएका विषयवस्तुलाई लिएर समाजमा छलफल हुनुपर्ने बताइन् । संवादको सहजीकरण सुरज सुवेदीले गरेका थिए ।

 

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्