काठमाडौं । सातवटै महादेशका उच्च हिमशिखरको आरोहण गरी ‘सेभेन समिट’ पूरा गर्ने लक्ष लिएका नेपाली पर्वतारोही प्रकाशराज पाण्डेले दशैँलगत्तै अफ्रिकाको सर्वाेच्च शिखर किलिमञ्जारो आरोहण गर्ने भएका छन् ।
सो शिखर आरोहणका लागि दशैँ टिकाको भोलिपल्ट अफ्रिकाको तान्जेनियातर्फ लाग्ने पाण्डेले बताए । ‘टिकट भइसक्यो, टीकाको भोलिपल्टै त्यता लाग्छु’, उनले भने ।
तान्जेनियामा रहेको शिखर ५ हजार ८ सय ९५ मिटर अग्लो उक्त शिखर जुन अफ्रिकाकै सबैभन्दा अग्लो चुचुरो हो ।
गत जुन २८ र २९ तारिखमा ककेशश हिमशृङ्खलामा पर्ने युरोपको सबैभन्दा अग्लो चुचुरो एलब्रस हिमाल आरोहण गरेका पाण्डेको अर्को महादेशको यात्राको रूपमा अफ्रिका परेको छ ।
रुसमा रहेको एलब्रस हिमालको दक्षिणी र पूर्वी दुवै चुचुराको उनले सफल आरोहण गरेका थिए । माउण्ट एलब्रस ५ हजार ६ सय ४२ मिटर उचाइमा रहेको छ ।
रामेछापको लिखु तामाकोसी गाउँपालिका–७ तिल्पुङमा जन्मिएका ३१ वर्षीय पाण्डेले विश्वको सर्वाेच्च शिखर सगरमाथा आरोहण गरिसकेका छन् । उनले सन् २०१८ मा सर्वाेच्च शिखर सगरमाथा आरोहण गरेका थिए ।
यसअघि सन् २०१६ मा आइसल्याण्ड पिक आरोहण गरेका पाण्डेले २०१७ मा दुई पटक स्काउट पिक आरोहण गरिसकेका छन् । उनले २०१८ मा नेपालकै आमादब्लम हिमाल आरोहण गरेका थिए ।
सगरमाथा पछि सन् २०१९ मा पाण्डेले किलर माउण्टेन भनेर चिनिने मनास्लु हिमाल आरोहण गरेका थिए । उनले हालसम्म नौ पटक विभिन्न हिमाल आरोहण गरेका छन् ।
एक वर्षभित्र विश्वका सातैवटा महादेशका उच्च शिखर चढेर स्वदेश फर्किएपछिसगरमाथाको दोस्रो पटक आरोहण गर्ने योजना प्रकाशको छ ।
हिमाल चढ्ने आफ्नो अभियानमा पर्वतारोहणको क्षेत्रमा काम गर्नेले चासो देखाएका भए पनि सरकारको तर्फबाट खासै चासो नदिएको पाण्डेले गुनासो गरे ।
विभिन्न चन्दादाता सहयोगीको मद्दतमा आफ्नो यात्रा चलिरहेको उनले बताए । ‘मेरो व्यक्तिगत स्वार्थ के छ र, देशको नाम राखौँ, विश्वका सबै उच्च शिखरमा देशको झण्डा फहराऊँ भन्ने उद्देश्यले आरोहणमा लागेको हो, तर सोचेजस्तो सहयोग पाइएको छैन, हरेक पटकको यात्रामा ऋण खोज्नु परेको छ’, उनले भने ।