काठमाडौं । दसैँ, तिहार र छठलगायत काठमाडौं उपत्यका र अन्य विभिन्न जिल्लाहरुमा पर्वोत्सवका लागि सुपथ मूल्यको पसलको सुरुवात गरिएको छ ।
ती पसलमार्फत् उपभोक्तालाई खाद्य वस्तुमा छुट दिई खाद्यान्न तथा मासुजन्य पदार्थमा बजार मूल्य स्थिरीकरण गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनीको कार्य सञ्चालन विनियमावली २०८० को विनिमय १३८ ले दिएको अधिकार प्रयोग गरी सुपथ पसल सञ्चालन गरिएको हो ।
पसल सञ्चालन गर्ने कर्मचारी ज्ञानु थापाले उपत्यकामा मासुको वितरण सहज र बजार मूल्य स्थिर राख्ने उद्देश्यले आजबाट खसी, बोका र च्याङ्ग्राको विक्री सुरु गरेको बताइन् ।
उनले नाफा कमाउनु भन्दा पनि सेवा दिनु र सँगसँगै व्यापार गनुपर्ने उद्देश्यले साथ गत वर्षको मूल्यमा कुनै परिवर्तनबिना खसी, बोका बिक्री भइरहेको बताइन् ।
उनले भनिन्, ‘मासु वितरण सहज होस् भनेर र बजार मूल्य पनि स्थिर होस भन्ने उद्देश्यले आजबाट खसी, बोका र च्याङ्ग्राको बिक्री सुरु गरेका छौं । उपभोक्ताहरुले योभन्दा सस्तोमा पाउन पाए हुन्छ भन्ने हुन्छ तर उपभोक्ताहरुले पनि के बुझ्नु पर्छ भने यो वर्ष सबैमा मूल्य वृद्धि भएको छ । तर गत वर्षको मूल्यमा अलिकति पनि नबढाइकन बिक्री गरेका छौ । नाफा कमाउनु भन्दा पनि सेवा दिनु र सँगसँगै व्यापार गर्नुपर्ने भएको हुनाले मूल्यमा कुनै परिवर्तन भएको छैन ।’
उनले मकवानपुर र दाङ्बाटखसी, बोका र रसुवाबाट च्याङ्ग्रा ३ हजार ल्याएको जानकारी दिइन् ।
उनले भनिन्, ‘यहाँ खसी, बोका मकवानपुर र दाङबाट आएको छ भने रसुवाबाट च्याङ्ग्रा आएको छ । बजार मूल्य स्थिर राख्नका लागि मात्रै विक्री गर्न लागेको हुनाले ३ हजार मात्रै ल्याइएको हो ।’
केन्द्रिय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका पशु स्वास्थ्य प्राविधिक विमला केसीले आफ्नो अनुगमनबाट अहिलेसम्म सबै खसी, बोका र च्याङ्ग्राहरु स्वस्थ रहेको बताइन् ।
उनले चाडपर्व लक्षित गरेर आउने खसी, बोकाहरुको स्वास्थ्य परीक्षणका साथै भ्याक्सिन लगाएको पनि परीक्षण गर्ने गरेको जानकारी दिइन् ।
उनले भनिन्, ‘खसी, बोकाहरुको स्वास्थ्य अवस्था कस्तो छ, रगत परीक्षण गरेर भ्याक्सिनहरु लगाएको छ कि छैन भन्ने हेर्छौं । नवमीको दिनसम्म यस्तो परीक्षण गर्छौ । सबै खसी बजारमा परीक्षण गर्ने क्रम जारी छ । हिजोको अनुगमनबाट स्वस्थ खसी बोकाहरु मात्रै पाएका छौं ।’
खसी, बोका किन्न आएका ग्राहक विष्णुप्रसाद आचार्यले यसपालि खसी, बोकाको मूल्य बढी भएको बताए । उनले भने, ‘गत सालभन्दा अलि महङ्गो भएको जस्तो लागेको छ ।’
अर्का ग्राहकले सुपथ पसलमा बजारमा भन्दा १०–२० रुपैयाँ सस्तो भएको भन्दै खाद्य संस्थाले राम्रो काम गरेको बताए । उनले भने, ‘दिदिबहिनीहरुको एउटा समूह छ उनीहरुले बोका खान खोजेको हुनाले उहाँहरुको सहयोगका लागि म बोका किन्न आएको हो । यहाँ बजारमा भन्दा १०–२० रुपैयाँ सस्तो छ । खाद्य संस्थालाई धन्यवाद दिन चाहन्छु ।’
सूचनाबिना नै यसपालि खसीहरुको मूल्यवृद्धि भएको ग्राहक नवीना कार्की बताउँछिन् । उनले भनिन्, ‘जसरी पनि जनता नै हो मारमा पर्ने, नकिने पनि भएन चाडपर्व मनाउनै पर्यो, सूचना बिना नै यसपालि महङ्गो भएको छ ।’
सुपथ मूल्यको पसल मंसिर ३ गतेसम्म सञ्चालन हुनेछ । जिल्लास्थित कार्यालयहरुबाट उपभोक्तालाई विक्री गर्ने परिमाणको हकमा खाद्यान्न मौज्दात, उपभोक्ताको चाप र बजार मूल्यलाई अध्ययन गरी आन्तरिक छलफल, निर्णय र कार्यविधि बनाई प्रत्येक उपभोक्तालाई बिक्री परिमाण तोक्न सकिने व्यवस्था पनि गरिएको छ ।