काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले कांग्रेसबाहेक अरु दलले राष्ट्रलाई एकताबद्ध गर्न नसक्ने दाबी गरेका छन् ।
शुक्रबार ‘राजनीतिक उपलब्धि र आजको चुनौती’ विषयक विचार गोष्ठीमा उनले नेपाली कांग्रेसले नै भविष्यमा सबै राजनीतिक दललाई एकताबद्ध गरी देशलाई समृद्धितर्फ लैजाने भन्दै उनले कांग्रेस त्यसको लागि सक्षम बन्नुपर्ने धारणा राखे ।
राष्ट्रलाई एकताबद्ध गर्ने जिम्मेवारी कांग्रेसको भएको उनको भनाई छ ।
विगतमा कांग्रेसले ऐतिहासिक नेतृत्व गरेको र भविष्यमा पनि देशको जिम्मेवारी कांग्रेसले नै लिनुपर्ने भन्दै उनले भने, ‘राष्ट्रलाई एकताबद्ध गर्ने जिम्मेवारी कांग्रेसको हो । अरुले गर्न सक्दैनन् । यथार्थ यही हो । इतिहासले सिद्ध गरेको र वर्तमान पनि त्यही हो । नेपालको एकताबद्ध भविष्य नेपाली कांग्रेसमै निर्भर छ ।’
सबै राजनीतिक दललाई एकताबद्ध गर्न कांग्रेसको आवश्यकता भएको र त्यसका लागि आफैंभित्रबाट कांग्रेसले क्षमता निर्माण गर्नुपर्न उनको धारणा छ ।
‘कांग्रेसले सबै राजनीतिक पार्टीलाई एकताको सूत्रमा आवद्ध गरेर देशलाई नेतृत्व प्रदान गर्न सक्नुपर्छ । त्यो क्षमता, त्यो ल्याकत र कौशलता कांग्रेसले आफैंभित्रबाट निर्माण गर्न सक्नुपर्छ र सिङ्गो देशलाई डोर्याएर समृद्धिको बाटोमा लैजान सक्नुपर्छ,’ सिटौलाले भने ।