काठमाडौं । राष्ट्रिय सभा नियमावली २०७५ संशोधन मस्यौदा समिति गठन गरियोस् भन्ने प्रस्ताव पारित भएको छ ।
शुक्रबार बसेको राष्ट्रिय साभा बैठकमा राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझिले राष्ट्रिय सभा नियमावली २०७५ संशोधन मस्यौदा समिति गठन गरियोस् भनि सदनमा पेस गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
उनको प्रस्तावलाई देवेन्द्र दाहाल र गोपी बहादुर अच्छामीले समर्थन गरेका थिए ।
उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गर्दै राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले भने, ‘राष्ट्रिय सभा नियमावली २०७५ संशोधन मस्यौदा समिति गठन गरियोस भन्ने नामावलीसहितको प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु ।’
गठित समिति सदस्यमा अनिता देवकोटा, खिमलाल देवकोटा, जितेन्द्र नारायण देव, तुलप्रसाद विश्वकर्मा, दिलकुमारी रावल थापा पार्वती,भैरव सुन्दर श्रेष्ठ, मदन कुमारी शाह गरिमा, महेश कुमार महरा, मोहम्मद खालित, शेखर कुमार सिंह, डा. विमला राई पौड्याल र सुरेश कुमार आले मगर रहेका छन् ।
उक्त समितिको कार्यावधि २०८० पुष १४ गतेसम्म रहने छ ।
गठित पुष १४ भित्र समितिले, राष्ट्रिय सभा नियमावली २०७५ मा रहेको सभा तथा समिति सञ्चालनमा देखा परेका कठिनाई र समस्या पहिचान गरी नियमावली संशोधन मस्यौदा तयार गरी सभामुखलाई पेस गर्ने ।
समितिको कार्यविधिमा समिति सदस्य मध्यबाटै एकजना सभापति चयन गर्ने, राष्ट्रिय सभा नियमावली २०७५ बमोजिम अधिकार र कार्यविधि अपनाउने, आवश्यक परेको विषयमा समितिले समिति सदस्य बाहेक अन्य व्यक्तिको सहयोग लिन सक्नेलगायतका व्यवस्था छन् ।
बैठकमा अपांगता भएका व्यक्तिको संविधान प्रदत्त मौलिक हक र अन्य राष्ट्रिय अन्तराष्ट्रिय सन्धी सम्झौता र कानूनमा भएको प्रावधानहरुको कार्यान्वयनलगायतका लागि राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले संकल्प प्रस्ताव दर्ता गरेका छन् ।