‘सम्झेउर’ गीतलाई लिएर हेमराज र रमेशबिच विवाद, दुवैका आ–आफ्नै दावी

‘सम्झेउर’ गीतलाई लिएर हेमराज र रमेशबिच विवाद, दुवैका आ–आफ्नै दावी

राजाराम पौडेल, पोखरा । लोक दोहोरी गीत ‘सम्झेउर’ को विषयमा पत्रकार हेमराज अधिकारी र कलाकार रमेश परियारबिच विवाद भएको छ । केही समय अगाडि रेर्कड भएको यो गीतको शब्दलाई लिएर भिडियो रिलिज भएसँगै विवाद भएको हो । पत्रकार समेत रहेका अधिकारीले गीतको शब्द रमेश परियार र आफुले संयुक्त रुपमा लेखेको तथा गीत रेर्कडिङको लागि आफूले लगानी गरेको भन्दै आफ्नो अनुमति वेगर गीत रिलिज भएको र गीत रिलिजबारे कुनै पनि जानकारी नदिइएको तथा शब्द रचनामा आफ्नो नाम नराखिएको आपत्ती जनाएका छन् ।

यसबाट आफूलाई अन्याय भएको भन्दै यो विषयमा छानबिन गरिपाउँ भनेर बिहीबार उनले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल र प्रतिष्ठान गण्डकी प्रदेश समितिमा निवेदन दिएका छन् ।

अधिकारीले निवेदनमा केही वर्ष अगाडि रेकर्ड भएको गीत ‘सम्झेउर’मा शब्द रमेश परियार आफ्नो भएको, स्वर रेशम निर्दोष र शान्ती श्री परियार तथा लय रेशम निर्दोषले सिर्जना गरेको बताएका छन् । बिनोद बाजुरालीले एरेन्ज गरेर मालाश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतमा लगानी आफूले गरेको खुलाएका छन् । गीत रेर्कडिङ भएपछी शब्द लेखेको बारे कुरा गर्दा कि मेरो,कि तपाईको मात्र शब्द राख्नुहोस् भनेर रमेश परियारले भनेको र केही समयपछी केही टुक्का टिकटक मार्फत समेत सार्वजनिक गरेको गुनासो समेत अधिकारीले गरेका छन् ।

पछि सबै आफ्ना शब्दमा गीत रेकर्ड गर्ने तयारी गर्दा गायक रेशम निर्दोष विदेशमा कार्यक्रममा भएको कारण त्यतिबेला सम्भव नभएको र अहिले आएर आफूलाई कुनै जानकारी नदिइकन सार्वजनिक भएको भन्दै आपत्ति जनाएका छन् । भिडियो निर्माणको लागि तयारी हुँदै गर्दा एकाएक गीत रिलिज भएको उनको भनाई छ । उनले युट्युबबाट गीत तुरुन्त हटाउन समेत माग गरेका छन् । यसबाट आफूलाई अन्याय भएको भन्दै कानूनी ढोका ढकढकाउने समेत तयारी गरेको अधिकारीले नेपाल अहिलेलाई बताएकाछन् । आपसी समझदारीमा गरिएका कतिपय सहमति उन्लघंन गरेर परियारले आफूलाई धोका दिएको समेत अधिकारी दावी गर्छन् ।

यो विषयमा रमेश परियारसँग टेलिफोन मार्फत बुझ्दा गीत रेर्कड गर्दा ३७ हजार रुपैयाँ अधिकारीले लगानी गरेको स्विकार गरें । सोही कारण भिडियोमा अधिकारीको नाम निर्माताको रुपमा स्पष्ट रुपमा राखिएको उनको भनाई छ । अधिकारीले लेखेको शब्द अडियोमा भएपनि भिडियोमा समावेश गरिएका १० वटा टुक्काको शब्द आफ्नो मात्र रहेको परियारको दावी छ । अधिकारीले गरेको लगानी गीत मार्फत प्राप्त हुने आम्दानीबाट फिर्ता गर्न तयार रहेको परियारले खुलाए । गीत रेर्कड भएको ३ वर्षसम्म रिलिज नहुँदा श्रष्टालाई समस्या हुने भएकोले अहिले आएर गीत रिलिज गर्नुपरेको उनको भनाई छ ।

आफु यो विषयको विवाद बसेर मिलाउन तयार रहेको तर अधिकारीले हालसम्म आफूलाई सम्पर्क नगरेको गुनासो परियारले गरें । रेशम निर्दोषले शब्द लेख्न भनेपछि २० मिनेटको बिचमा शब्द लेखेको परियारको भनाई छ । पुनः अधिकारीको एकल शब्दमा गीत रेकर्ड गराउन खोज्दा गायिका शान्ती श्री परियारले गाउन नमानेको समेत उनको दावी छ । गीत लामो समय रोकिएपछि टिकटकमा हालेको र त्यसरी हाल्दा पनि कुनै प्रतिक्रिया नदिएको उनको भनाई छ ।

‘मैलै धर्म छोडेको छैन, भिडियोमा हेमराज अधिकारी सरकै प्रोजेक्ट भनेर माथि हेडलाइनमा प्रोडुसरमा नाम राखेको छु, एउटा मात्र पोष्टर आउट भएको त्यसमा पनि उहाँको फोटो पनि राखेको छु’ उनले भने ।
आफूले गरेको सिर्जना वर्षौसम्म रोक्न नसक्ने भएको कारण गायक तथा लय संकलक रेशम निर्दोषसँगको सल्लाहमानै भिडियो बनाएको उनको भनाई छ ।

गीत रिलिज भएपछि अधिकारीले फोन अहिलेसम्म नगरेको उनले बताए । ‘उहाँले आजसम्म मलाई फोन गर्न भएको छैन, अन्तबाट फोन आइरहेको छ’ नेपाल अहिलेसँग उनले भने ।

‘म जहाँ जान पनि तयार छु, नराम्रो काम गरेको छैन, उहाँले गर्ने काम मैले गरेको हुँ, गीतको भिडियो मेरोमा नै छ, मेरो मनासाय भोली युट्युबले आम्दानी आउला त्यसबाट सरको लगानी दिनुपर्छ भन्ने हो’ उनले भने।

छलफलका लागि सधैं तयार रहेको उनको बताए । ‘उहाँले बोलाए पोखरा आउन पनि तयार छु, उहाँ काठमाण्डौ आउनुहुन्छ भने यहीं पनि छलफल गर्न सक्छौं’ उनले थपे ।

परियारले भिडियोमा समावेश गीतको शब्द आफ्नो मात्र रहेको भनेपनि अधिकारीले भिडियोमा समावेश गीतका शब्द आफ्नो समेत रहेको दावी गर्छन् । गीत युट्युबाट हटाए मात्र छलफल गर्ने अधिकारीको अडान छ ।

एक दिन अगाडि रिलिज भएको गीतमा यो समाचार तयार पार्दासम्म ३४ हजार दर्शकले भिडियो हेरेका छन् । ती मध्ये १४ सयले लाइक र १ सय ३ जनाले कमेन्ट गरेका छन् । गीत रमेश परियार युट्युब च्यानलमा रहेको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्