काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले, कर्णाली प्रदेशमा लागुऔषधविरुद्धको लालटिन अभियानको शुभारम्भ गरेका छन् ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा लालटिन अभियानको शुभारम्भ गर्दै उनले लागुऔषधका कारण घर, समाज र सिंगो राष्ट्रलाई असर पुगेको भन्दै यसकाविरुद्धमा सिंगो समाज एकजुट हुनुपर्ने बताए ।
उनले भने, “सबैको साझा संकल्प र प्रयत्नबाट लागुऔषध नियन्त्रण र अन्त्यतर्फ लाग्नु आजको आवश्यकता हो, घर, समाज र राष्ट्रलाई लागु औषध मुक्त बनाउका लागि सबैले संकल्प गर्नु आवश्यक छ ।”
उनले सीमा नाकामा हुने लागुऔषध ओसार–पसार नियन्त्रणका लागि तीन तहकै सरकार र सामाजिक संघ–संस्थाको महत्वपूर्ण भूमिका रहेको भन्दै यसतर्फ सक्रियतापूर्वक लाग्न सबैमा आग्रह गरेका छन् ।
उनले भने, “सिमाबाट हुने लागुऔषध नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय तहका साथै नागरिक समाज, सामाजिक संस्था र समुदायको महत्वपूर्ण भूमिका रहन्छ, यसतर्फ आजकै दिनदेखि सक्रियतापूर्वक लाग्न सबैमा आग्रह गर्दछु ।”
लागुऔषधको दुव्र्यसनमा १६ देखि २६ वर्ष उमेर समूहका धेरै प्रभावित तथ्याङ्कले देखाएको भन्दै उर्वर उमेरमा कुलतमा फस्नु राष्ट्रका लागि हानिकारक भएको उनको भनाई छ ।