विराटनगर । साताअघि सिक्किमको टिस्टा नदीमा आएको बाढीपछि बेपत्ता भएका १० जना नेपालीहरुको खोजीका लागि पहल गरिदिन भारतीय पक्षसँग माग गरिएको छ ।
असोज १७ गतेको बाढीमा परी इलामका १० जना बेपत्ता भएको उनीहरुका आफन्तले बताएका छन् ।
काम गर्नका लागि गएका इलाम नगरपालिका–९ का उनीहरु बाढीको घटनापछि सम्पर्कबिहीन भएको स्थानीय बासिन्दाको भनाइ छ ।
उनीहरुले खोजी गरिदिने जिल्ला प्रशासन कार्यालय इलामलाई अनुरोध गरेका छन् । इलाम नगरपालिका ९ का बिक्रम फियाकले टिस्टा नदीको बाढीले क्षति पुर्याएकै दिनदेखि उनीहरु परिवारसँग सम्पर्कबिहीन भएका हुन् ।
उनका अनुसार सम्पर्कबिहीन भएकामा इलाम नगरपालिका–९ का सेनबहादुर कार्की, लाक्पा शेर्पा, नरमाया बस्नेत, खुसी बस्नेत, कुमार बस्नेतलगायत छन् ।
इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार नेपालीहरु सम्पर्कबिहीन भएको जानकारी आएपछि भारतीय पक्षसँग खोजी र उद्धारका लागि पहल भइरहेको छ ।
भारतीय सुरक्षाकर्मी र प्रशासनसँग कुरा गरी बेपत्ता भएका नेपालीहरुको खोजी र उद्धारको पहलका लागि समन्वय भइरहेको प्रशासन कार्यालयले जनाएको छ ।
सीमावर्ती नेपाली गाउँका बासिन्दा कामका लागि सिक्किम, दार्जिलिङ, कालेम्पोङ जस्ता क्षेत्रमा जाने गरेका छन् ।
उनीहरु पनि कामकै लागि त्यस सिक्किमतर्फ जाने क्रममा टिस्टा नदीको बाढीका कारण प्रभावित भएका हुन् ।