काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले शसस्त्र प्रहरी बललाई नविनतम सुरक्षा चुनौतिलाई सामना गर्न सक्ने गरी सक्षम सुरक्षा निकाय बनाउन लागेको दाबी गरेका छन् ।
आइतबार सशस्त्र प्रहरी बलको दिक्षान्त समारोहमा श्रेष्ठले राष्ट्रिय सुरक्षा भित्र पर्ने सबै जिम्मेवारीलाई साझा जिम्मेवारीको रुपमा लिएको उल्लेख गर्दैै सरकार बोर्डर आउटपोष्ट (बीओपी) हरुलाई थप गर्ने तथा आवश्यकता हेरी स्तरवृद्धि गर्ने कार्यमा लागेको बताए ।
उनले भने,‘सशस्त्र प्रहरी बल नेपाललाई सीमा सुरक्षाको डेडिकेटेट फोर्स बनाउन अन्तराष्ट्रिय मापद्दण्ड सहितको थप बीओपीहरुको स्थापना तथा मौजुदा बीओपीहरुको स्तर वृद्धि गर्दै समग्र संगठनहरुलाई प्रविधिमैत्री एवम् चलायमान बनाउने तर्फ मन्त्रालय केन्द्रीत रहेको छ ।’
बद्लिँदो समाज, राजनीति र परिवेशलाई मध्यनजर गर्दै बढ्दो सुरक्षा चुनौतिलाई सामना गर्न सक्ने गरी सुरक्षा निकायलाई आधुनिक तालिम उपलब्ध गराउनेदेखि समयानुकूल बनाउँदै लैजाने उनको भनाई छ ।
उनले भने, ‘सुरक्षा कार्य संवेदनशील र गहन कार्य हो । नविन प्रविधिहरु तथा बद्लिँदै गरेको राजनीति सामाजिक र आर्थिक अवस्थासँग नै बढिरहेको सुरक्षा चुनौतीलाई परास्त अब हाम्रा काम कारबाहीहरुमा हार्मीसँग भएको श्रोत साधन सूचना र संगठन परिचालनको तालमेल हुनुपर्ने कुरालाई मध्यनजर गरी प्रशिक्षण कार्यलाई समयअनुकूल थप आधुनिक र वैज्ञानीक बनाउँदै लैजान आवश्यक छ ।
यसका लागि प्रशिक्षण प्रतिष्ठान तथा तालिम सञ्चालन गर्ने अन्य युनिटलाई आवश्यक श्रोत साधन र पूर्वाधार व्यवस्थापनका लागि मन्त्रालय गम्भीर रहेको छ ।’