वीरजङ स्मृति पुरुष राष्ट्रिय भलिबलको तयारी पूरा

वीरजङ स्मृति पुरुष राष्ट्रिय भलिबलको तयारी पूरा

काठमाडौ । वीरजङ स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक नेपाल गणतान्त्रिक खेलकुद महासंघले प्रतियोगिताको सबै तयारी पूरा भएको जनाएको हो ।

बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै महासंघका अध्यक्ष जयनन्द चन्दले तयारी पूरा भइसकेको उल्लेख गर्दै प्रतियोगितामा नौ वटा टिमले सहभागिता जनाउने टुंगो लागेको बताए ।

प्रतियोगिता असोज १८ देखि २१ गतेसम्म काठमाडौंको नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टर्स ट्रेनिङ्ग सेन्टरमा हुने छ ।

महासंघका उपाध्यक्ष अनिलकुमार पुन मगरले राष्ट्रिय खेलकुद परिषद्को मुख्य सहयोग र नेपाल भलिबल संघको प्राविधिक सहयोगमा प्रतियोगित हुन लागेको बताए ।

प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, गण्डकी प्रदेश र किङ्गस क्लब, धौलागिरी रेष्टुरेन्ट सान्धा जापान क्लब, गलकोट स्पोर्ट क्लब, न्युटन चिल्ड्रेन एकेडेमी, त्रिभुवन विश्वविद्यालय आरआर क्याम्पस र आयोजक टिमले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको उपाधि विजेताले पाँच लाख रुपैयाँसहित ट्रफी पाउने छ भने दोस्रो हुनेले दुई लाख ५० हजार प्राप्त गर्ने जनाइएको छ । यसैगरी तृतीय पुरस्कार एक लाख र सान्त्वना पुरस्कार ५० हजार रहेको महासंघले जनाएको छ ।

प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट स्पाईकर, बलर, सेटर, सर्भर, डिफेन्डर र क्वीकरलाई जनही पाँच–पाँच हजार पुरस्कारको व्यवस्था गरिने भएको छ ।

सहभागी टिम तथा खेलाडीले खाने, बस्ने व्यवस्था आफैं गर्नपर्ने महासंघले जनाएको छ । टिम दर्ता शुल्क निःशुल्क छ । खेल लिगकम नकाउटको आधारमा भलिबल संघ र राष्ट्रिय रेफ्रिहरुको नियम बमोजिम खेलाइने महासंघले जनाएको छ । एक टिमले तीन जनासम्म विदेशी खेलाडी पनि राख्न पाउने महासंघले जनाएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्