भरतको गोलको मद्दतले त्रिभुवन आर्मी क्वाटर फाइनलमा, राइजिङ स्टार पराजित

भरतको गोलको मद्दतले त्रिभुवन आर्मी क्वाटर फाइनलमा, राइजिङ स्टार पराजित

राजाराम पौडेल, पोखरा । खेलको २७ औं मिनेटमा कप्तान भरत खवासले गरेको गोलको मद्दतले त्रिभुवन आर्मी क्लब २३ औं संस्करणको आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटर फाइनल प्रवेश गरेको छ । दर्शकको राम्रो सर्पोट पाएको मोफसलको टोली राइजिङ स्टार फुटबल क्लबले बलियो चुनौती दिए पनि खेल १–० ले आर्मीलाई सुम्पन्न बाध्य भयो । खेलमा निर्णायक गोल गरेका खवास मेन अफ दी म्याच घोषित बने । अब आर्मीले संकटा क्लबसँग प्रतिष्पर्धा गर्नेछ ।

खेल पश्चात कुराकानी गर्दै आर्मीका प्रशिक्षक मेघराज केसीले खेलमा पाएका तीनवटा अवसर मध्ये एउटा अवसरको सदुपयोग गर्न सक्दा जित हासिल भएको बताए । राइजिङ स्टारले उतीनै अवसर पाए पनि सदुपयोग गर्न नसकेको भएपनि समग्रमा खेल हेर्न लायक रहेको उनले बताए । आफ्नो टोलीले आगामी खेलमा यो भन्दा उत्कृष्ट खेल पस्कने उनको दावी छ । लामो समयसम्म टोलीलाई अगाडि बढाउने लक्ष्यका साथ आर्मीको प्रशिक्षकको जिम्मेवारी सम्हालेको बताएका उनले आफ्नो ध्यान खेलाडी उत्पादनमा रहेको समेत सुनाए ।

राइजिङ स्टार फुटबल क्लबका प्रशिक्षक सन्दीप केसीले पहिलो हापमा टीमवर्कमा थोरै कमजोरी देखिए पनि दोस्रो हापमा राम्रो खेल पस्केको बताए । पहिलो पटकको सहभागीतामा दर्शकको राम्रो सर्पोट पाएकोमा उनले खुशी व्यक्त गरे । केही सिनियर खेलाडी समेत राखेर राम्रो टोली बनाएको कारण आर्मीलाई कडा चुनौती दिन सफल भएको उनले सुनाए । क्लबलाई फुटबलको क्षेत्रमा स्थापित बनाउन निरन्तर प्रयास गरिरहेको बताएका उनले टोलीमा निखारता प्रदान गर्नको लागि एन्फा र जिल्ला खेलकुद विकास समितिबाट सहयोग मागेको बताए । यस्ता प्रतियोगितामा मोफसलको टोलीलाई स्थान दिँदै जाने हो भने खेलाडी उत्पादनमा सहयोग मिल्ने उनको तर्क छ । मोफसलमा टोली निर्माण गर्न ठुलो चुनौती रहेको समेत उनले खुलाए ।

माघ ९ गतेबाट पोखरा रंगशालाको फुटबल मैदानमा सञ्चालन भइरहेको यो प्रतियोगितामा कुल १२ टोलीले सहभागिता जनाउनेछन् । प्रतियोगिता अन्तरगत माघ ११ गते मछिन्द्र क्लब र जावलाखेल युथ क्लब आमने सामने हुनेछन् । यसैगरी माघ १२ गते नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबले खेल खेल्नेछन् । माघ १३ गतेबाट क्वाटर फाइनलका खेल सुरु हुनेछन् । माघ १३ गते भुटानको लिग च्याम्पियन पारो फुटबल क्लब भुटान र थ्रीस्टार क्लब भिड्नेछन् ।

माघ १४ गते दोस्रो क्वाटर फाइनल खेलमा संकटा क्लब र त्रिभुवन आर्मी क्लब आमनेसामने हुनेछन् । माघ १५ गते मनाङ मस्र्याङ्ग्दी क्लब र ११ गतेको बिजेता टीमले सेमी फाइनल प्रवेशका निमित्त संघर्ष गर्नेछन् । माघ १६ गते चर्ज व्वाईज युनाइटेड फुटबल क्लब र १२ गतेको बिजेता टीम आमनेसामने हुनेछन् ।

पहिलो सेमी फाइनल खेल माघ १७ गते हुनेछ । १३ गते को विजेता र १५ गतेको विजेता टीम फाइनल प्रवेशका लागि भिड्नेछन् । दोस्रो सेमिफाइनल खेलमा माघ १८ गते १४ गतेको विजेता र १६ गतेको विजेताबीच प्रतिष्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल माघ २० गते हुनेछ ।
सबै खेल दिउँसो २ बजेबाट सुरु हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ ।

“आत्मा साँक्षी राखि मन, वचन र कर्मले सामाजिक सेवा गरौं” भन्ने उद्धेश्यका साथ २०५५ सालमा स्थापित सहारा क्लब पोखराले आयोजना गर्ने यस प्रतियोगितालाई पहिलो संस्करण देखी नै मुख्य प्रायोजकको रुपमा बहुचर्चित मोफसलको व्यापारिक प्रतिष्ठान हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउले गरेको छ ।

साथै पोखरा महानगरपालिकाको प्रवर्धन, राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद् गण्डकी, अखिल नेपाल फुटबल संघ, जिल्ला खेलकुद विकास समिति कास्की र प्रदेश फुटबल संघ गण्डकी, कास्की जिल्ला फुटबल संघ, सहारा युके, सहारा हङकङ, सहारा अष्ट्रलिया समेतको विशेष सहयोग रहने छ । लुम्बिनी विकास बैंक अफिसियल बैंक छ भने बुद्ध एयर अफिसियल एयरलायन्स हो ।

प्रतियोगितामा वचत हुन आएको रकम क्लबबाट संचालित सुर्य बहादुर के. सी. स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने क्लबका अध्यक्ष केशवराज बरालले जनाए । विगत २०६१ साल देखि आवासिय रुपमा निःशुल्क स्वास्थ्य, शिक्षा दिक्षा लगायत फुटबल प्रशिक्षण समेत सहारा फुटबल एकेडेमी पोखरा–१७, दोविल्लामा प्रदान गरिदैआईरहेको छ । । हाल चौँथो व्याचको एकेडेमीमा ८ जिल्लाका १४ जना बालकहरु आश्रित छन ।

प्रतियोगिताको विजेताले १२ लाख, उपविजेताले ६ लाख रुपैयाँ पुरस्कार पाउने छन् । उत्कृष्ट पाँच विधाका खेलाडी र सर्वाधिक गोलकर्तालाई जनही २५ हजार रुपैयाँ पुरस्कार, हरेक खेलको म्यान अफ द म्याचलाई आठ हजार तथा फाइनलका म्यान अफ दि म्याचलाई १० हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्