भानुगृह निर्माण गर्ने सहमति

तनहुँ । शिलान्यासको सात वर्षपछि आदिकवि भानुभक्तको घर निर्माणको तयारी थालिएको छ । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मथलो तनहुँको शिखरकटेरीमा भानुगृह निर्माण सुरु गर्ने सहमति जुटेको हो ।

भानु नगरपालिका–४ चुँदीरम्घा शिखरकटेरीमा भानुभक्तको घर शिलान्यास भए पनि निर्माण कार्य अघि बढ्न सकेको थिएन । पश्चिमाञ्चल विकास मञ्चको लगानीमा भानुगृह निर्माणको तयारी थालिएको हो ।

मञ्चका पदाधिकारी तथा आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका पदाधिकारीबीच बुधबार सम्पन्न संयुक्त बैठकले फागुनदेखि निर्माण कार्य अगाडि बढाउने सहमति गरेको छ । त्यसका लागि माघ महिनाभित्रै बोलपत्र आह्वान गरिने समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले जानकारी दिए ।

उनले भने, “सात वर्ष पहिला शिलान्यास भएर काम अघि बढ्न सकेको थिएन । अब भानुगृह निर्माण गर्नेमा सहमति जुटेको छ ।” भानुगृहको अनुमानित लागत रु एक करोड १० लाख रहेको छ । घरको डिजाइन थोरै परिवर्तन गर्न लागिएकाले बजेट तलमाथि हुनसक्ने आँकलन गरिएको उनको भनाइ छ ।

विकास मञ्चले आफ्नै लगानीमा भानुगृह निर्माण गर्ने अध्यक्ष मदनकुमार महतले जानकारी दिए । मञ्चले भानुगृह निर्माणका लागि रामकाजी कोनेको संयोजकत्वमा निर्माण समिति गठन गरेको छ ।

विसं २०७३ चैत २२ गते पश्चिमाञ्चल विकास मञ्चले भानुगृहको शिलान्यास गरेको थियो । विकास मञ्चले काममा ढिलाइ गरेपछि विकास समितिले आफ्नै सक्रियतामा घर निर्माण गर्ने तयारी थालेको थियो । तर विकास मञ्चले नै घर निर्माण गर्ने भएपछि समितिकोतर्फबाट आवश्यक सहयोग रहने रानाभाटले बताए ।

विकास समितिले शिखरकटेरीमा तारबार र सिसी क्यामरासमेत जडान गर्दैछ । यही ठाउँमा रामायण भवन निर्माण भइसकेको छ । जङ्गलको बीचमा भएकाले रामायण भवन संरक्षणविहीन अवस्थामा पुगेको छ । रानाभाटले भने, “भानुगृहको काम सुरु भएपछि यस ठाउँको थप विकास हुनेमा आशावादी छौँ, पानी र बत्तीको सुविधा पुगिसकेको छ ।”

यस अगाडि कच्ची बाटो, पानी र बत्तीको समस्यालगायत कारणबाट भानुगृहको काम अगाडि बढ्न सकेको थिएन । भानुभक्तको घर पुनःनिर्माणपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने विश्वास गरिएको छ ।

विसं २०५७ मा भानु जन्मस्थल विकास समितिको सहयोगमा यादव खरेलले ‘आदिकवि भानुभक्त’ नामक चलचित्र निर्माण गर्नका लागि भानुभक्तको घर रु एक लाखमा पुनःनिर्माण गरेका थिए । जङ्गलबीचको खरको छानाको घरमा विसं २०६१ जेठमा आगलागी भएको थियो जसमा करिब रु एक लाख २७ हजारको क्षति भएको थियो ।

भानु नगरपालिका–४ चुँदीरम्घामा विसं १८७१ असार २९ गते जन्मिएका आचार्यको विसं १९२५ असोज ६ गते निधन भएको थियो । नेपाली साहित्यका प्राथमिककालका प्रतिनिधि कविका रुपमा परिचित भानुभक्त वाल्मिकी रामायणका अनुवादकका रुपमा प्रख्यात छन्।

मोतिराम भट्टले उनलाई पहिलो पटक नेपाली भाषाका आदिकवि उपाधि दिनुभएको बताइन्छ । भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षालगायतका कृति लेखेका छन् भने उनका पाण्डुलिपिलाई सङ्ग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उनी नेपाली साहित्यमा चिनिएका थिए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्