दयारानीको ‘टीजर’ सार्वजनिक, फिल्म माघ २६ गतेबाट प्रदर्शनमा आउने

दयारानीको ‘टीजर’ सार्वजनिक, फिल्म माघ २६ गतेबाट प्रदर्शनमा आउने

राजाराम पौडेल, पोखरा । फिल्म ‘दयारानी’को टीजर बिहिबार सार्वजनिक भएको छ ।

यहीं माघ २६ गतेबाट नियमित रुपमा प्रदर्शनमा आउन लागेको फिल्मको केही दिन अगाडि ‘चोरी चोरी’ गीत सार्वजनिक गरिएको थियो भने आज ‘टीजर’ सार्वजनिक भएको हो । ‘टीजर’मा दयाहाङलाई अर्को विवाह गर्न  दियाले उस्काएको देखिन्छ ।  ‘टीजर’ रिलीजसँगै  दर्शकलाई फिल्म कस्तो बनेको होला भन्ने कौतुहलता बढाएको छ ।

माओत्से गुरुङ फिल्मको व्यानर तथा बाँसुरी फिल्मस्को प्रस्तुतीमा निर्माण गरिएको फिल्म माओत्से गुरुङको लेखन तथा निर्देशनमा तयार भएको हो ।

फिल्ममा दयाहाङ राई र दिया पुनसँगै  बिजय बराल, पुष्कर गुरुङ, प्रमिस गुरुङ, नयन गुरुङ, श्रृसा कुँवर, सुर्य सुनुवार, राजेन्द्र थापा, टिकाराम घले, सीता गुरुङ आदि कलाकारले अभिनय गरेका छन् ।

कलाकारको रुपमा स्थापित बनेका माओत्सेले यहीं फिल्मबाट नेपाली फिल्म निर्देशनमा डेब्यु गरेका हुन् । सोही कारण उनको फिल्मी यात्रामा दयारानीले महत्वपूर्ण अर्थ राख्छ । हुनत यसअगाडि ९ वटा गुरुङ फिल्म निर्देशन गरेर खारिएका उनी अभिनयको माध्यमबाट समेत नेपाली फिल्म र गुरुङ फिल्मका दर्शकको मनमुटुमा बाँस बस्न सफल भइसकेका छन् ।

फिल्म रिलीज पश्चात दर्शकको माउथ पब्लिसिटीले दर्शकलाई हलसम्म तान्ने विश्वास उनको छ । कास्कीको याम्जाकोट सहित पोखरा आसपासमा २२ दिनमा यो फिल्मको छायांकन सकिएको थियो ।

मुलधारका हालसम्म फिल्ममा नदेखिएको गुरुङ समुदायको कथाका कारण दयारानीमा दर्शकले नयाँ विषयवस्तु भेट्ने छन् । अहंकार बोकेको श्रीमान् र मायालु श्रीमतीको कथा फिल्ममा सुन्दर तरिकाले पस्किएको निर्माण पक्षको दावी छ ।
मोहन गुरुङ, न्यू आइटी भेन्चर जापान, किरण गुरुङ, केन्द्र लिम्बु, खुशीमान गुरुङ, सुरेन्द्र गुरुङ, सुर्य प्रकाश गुरुङले फिल्ममा लगानी गरेका छन् ।

पोखरामा भने यो फिल्म ‘च्यारिटी शो’ मार्फत समेत हेर्न पाइने भएको छ । सप्तरंगी क्लब तालबेसीको सहयोगार्थ फिल्मलाई च्यारिटी सो मार्फत माघ २० गते दिउँसो ४ बजे पोखरा सभागृहमा रहेको मिडटाउन ग्यालरीयामा प्रदर्शन हुनेछ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्