काठमाडौं । माघ १२ देखि २२ गतेसम्म ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिप हुने भएको छ ।
आज काठमाडौंमा पत्रकार सम्मेलन गरी खेल काठमाडौको नयाँ बसपार्कस्थित ढोरपाटनको खेलमैदानमा सञ्चालन हुने जानकारी गराइएको हो ।
च्याम्पियनसिपमा पहिलो हुनेलाई ५ लाख १ हजार नगद पुरस्कार राखिएको छ । दोस्रो हुनेलाई २ लाख ५० हजार, तेस्रोलाई १ लाख २५ हजार, चौथोलाई ७५ हजार, पाँचौं हुनेलाई ५० हजार र छैटौं स्थान बनाउनेलाई २५ हजार नगद पुरस्कार दिइने जनाइएको छ ।
यसैगरी उत्कृष्ट खेलाडीलाई एउटा स्कुटर र प्रत्येक सहभागी खेलाडीलाई ५ हजार नगद दिने आयोजकले जनाएको छ । खेलको कूल बजेट ५१ लाख ५ हजार रहेको जनाइएको छ ।















