काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनको निर्वाचन समितिका सदस्य चिरञ्जीवि ढकालले निर्वाचन प्रक्रिया सहजरुपमा अघि बढी रहेको जानकारी दिएका छन् ।
एनआरएनएको सचिवालयमा सञ्चारकर्मीसँग कुरा गर्दै सदस्य ढकालले अहिले सहज तरिकाले मनोयनको काम जारी रहेको जानकारी दिए ।
नेपाली समय अनुसार सोमबार दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको जानकारी दिँदै ढकालले कम्तिमा निर्वाचित हुने पद भन्दा दोब्बर उम्मेदवारी दर्ता हुने अनुमान गरे ।
सोमबारको उम्मेदवारी दर्ता होटेल सोल्टीमा हुने पनि उनले जानकारी दिए ।
अहिलेसम्म एनआरएनको अध्यक्षमा आरके शर्माले मात्रै उम्मेदवारी दर्ता गराएको बताउँदै समय बाँकी नै रहेकाले अरुले पनि तयारी गरिरहेको थाहा आफूले पाएको ढकालको भनाई छ । हिजो १४ तारिखदेखि उम्मेदवारी दर्ताको चाप बढेको जानकारी दिँदै आज १५ तारिखका दिन अत्याधिक चाप रहेको उनले बताए ।
१९ तारिख होटेल सोल्टीमा हुने निर्वाचन सम्पन्न भएको आधादेखि १ घण्टाको समयमा मत परिणाम सार्वजनिक हुने पनि जानकारी दिए ।
उम्मेदवारले प्रस्तावक र समर्थक भेट्न मुस्किल परेको विषयमा सञ्चारकर्मीले जिज्ञाषा राख्दा आफूहरुको मूल उद्देश्यनै धेरै भन्दा धेरै एनआरएनहरुलाई काठमाडौं बोलाउने रहेको बताए ।
सन् २००३ मा एनआरएन गठन हुँदा संस्थापक सचिव समेत रहेका ढकालले अहिले अनलाइन मतदान भएका कारण थोरै मानिसहरु नेपाल आउने भएकाले प्रस्तावक र समर्थक दुई दुई जना राखिएको बताए ।
उनले भने कम्तिमा १ जना उम्मेदवार बन्दा ५ जना अनिवार्य उपस्थित हुनु पर्ने भएकाले यसले नेपाल आउनेको संख्या पनि बढ्ने बताए । यस्तै, सधैं दशैंको बेला नेपालमा अधिवेशन आयोजना गर्नु भनेको नेपालीले मनाउने सबैभन्दा ठूलो चाड दशैंका बेला नेपाल आउन पाउने भएकाले यस्तो गरिएको पनि सदस्य ढकालले जानकारी दिए ।