काठमाडौं । नेकपा मालेका महासचिव सिपी मैनालीले नेपाली भूमिलाई कसैले, आफ्नो काल्पनिक शत्रुको विरोधमा प्रयोग गर्न खोजिरहेको बताएका छन् ।
शनिबार काठमाडौंमा नेकपा एमालेद्वारा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै उनले देशको राजनीतिमा र नेतृत्वमा परचक्रीहरूको हावी भएको भन्दै नेपाली भूमिलाई कसैले आफ्नो कल्पित शत्रुको विरोधमा प्रयोग गर्न खोजिरहेको बताएका हुन् ।
उनले भने,‘देशको राजनीतिमा जुन ढङ्गले परचक्रीहरू हावी भएका छन् । हाम्रा नेतृत्वमा हावी भएका छन् । हाम्रा नीतिहरूमा हावी भएका छन् । कुनै दिन हामी पनि त्यस्तै हुनुपर्ने हो कि । हाम्रो भूमि कसैले आफ्नो कल्पित शत्रुको विरोधमा प्रयोग गर्न खोजिरहेको छ । पहिले देखिनै कसैले हामीलाई गाभ्न र संरक्षित राज्य बनाउँन खोजिरहेको छ ।’
उनले हाम्रो स्वतन्त्रता सार्वभौम सत्ता अखण्डतालाई बाह्य शक्तिले नाम मात्रको बनाइदिएको भन्दै त्यसलाई बद्लेर वास्तविक स्वतन्त्रता स्थापित गर्नुपर्ने टिप्पणी गरे।
उनले भने, ‘हाम्रो भूमि खण्डित छ बाह्य शक्तिले हाम्रो स्वतन्त्रता सार्वभौम सत्ता अखण्डतालाई नाम मात्रको खाली औपचारिकताको बनाइदिएका छन् । त्यसलाई बद्लेर वास्तविक स्वतन्त्रता स्थापित गर्नुपर्छ । राष्ट्रिय प्रजातन्त्र हामीले प्राप्त गरिसकेका छैनौ ।’
उनले देश अरुको अधीनमा जान लागेको भन्दै त्यसबारे सोचेर आफू चिन्तित रहेको बताए ।