काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले प्रत्यक्ष बिक्रीको अवधारणाअनुसार उपभोक्ताले कम मूल्यमा सामान प्राप्त गर्न सक्ने बताएका छन् ।
ग्लोबल ओरियन्स नेपाल प्रालिको तेस्रो वार्षिकोत्सव अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रत्यक्ष विक्रीमार्फत् उत्पादकदेखि उपभोक्तासम्म आपूर्ति शृंखलाका विभिन्न तहहरु हट्ने हुँदा कम मूल्यमा सामान प्राप्त गर्न सक्ने भन्दै यो उपभोक्ता हितमा सकारात्मक पहलकदमी साबित हुने बताए ।
उनले भने, ‘प्रत्यक्ष बिक्रीको अवधारणाअनुसार उत्पादकदेखि उपभोक्तासम्म आपूर्ति शृंखलाका विभिन्न तहहरु हटाउने भएकाले उपभोक्ताले कम मूल्यमा सामान प्राप्त गर्न सक्छन् । प्रत्यक्ष बिक्रीको मर्मअनुरुप व्यवसाय हुन सकेमा उपभोक्ता हितको पक्षमा सकारात्मक पहलकदमी साबित हुन सक्छ । यसले उपभोक्ता र व्यवसायी दुवैलाई लाभ दिन्छ ।’
उनले परम्परागत व्यापार पद्धतिबाट उपभोक्तासम्म सामान पुग्दा लागत उच्च हुने भन्दै व्यवसायमा नवीनतम प्रविधि भित्रिनु सकारात्मक पक्ष भएको बताए ।
उनले भने, ‘व्यवसायमा नवीनतम प्रविधि भित्रिनु सकारात्मक पक्ष हो । परम्परागत व्यापार पद्धतिमा उत्पादकदेखि उपभोक्तासम्म सामान पुग्नका लागि उत्पादक, वितरक, होलसेलर, खुद्रा वितरक जस्ता विभिन्न शृंखला पार गर्नुपर्छ । जसको कारण उपभोक्तासम्म पुग्दा सामानको लागत उच्च हुने र उपभोक्ताहरु यसको मारमा पर्ने अवस्था रहन्छ ।’
उनले नेपालको सन्दर्भमा प्रत्यक्ष बिक्री वितरणलाई व्यवस्थापन तथा नियमन गर्नको लागि २०७४ सालमा ऐन तथा २०७६ सालमा नियमावली आएपछि सरकारले सोहीअनुरुप व्यवस्थित गर्दै आइरहेको जानकारी गराए ।
उक्त प्रालिले आयात प्रतिस्थापन गर्ने, स्वदेशी वस्तुहरुको खपत तथा प्रवर्द्धन गर्ने र आम युवाहरुमा उद्यामशीलताको विकास गरी स्वरोजगार प्रदान गरेको भन्दै खुसी उनले व्यक्त गरे ।