घाइते धन बहादुरको क्रन्दन: ‘साथीहरूको धेरै याद आउँछ,’ म सुत्न पनि सक्दिनँ ‘

घाइते धन बहादुरको क्रन्दन:  ‘साथीहरूको धेरै याद आउँछ,’ म सुत्न पनि सक्दिनँ ‘

काठमाडौं । ‘बिहान ६ बजेदेखि मिसाईलहरु पड्किन थाले त्यसपछि हामी बङ्करभित्र भाग्यौं ।’ हमासको आक्रमणमा परि घाइते भएका धनबहादुर चौधरीले शुक्रबारको झिसमिसे बिहानीमा काठमाडौं उत्रिएपछि पत्रकारहरूसँग आक्रमण घटना सुनाए ।

थरथरी कापीरहेका ओठ, र ह्वीलचियरको सहायतामा रहेका उनलाई सञ्चारकर्मीले घेरेका थिए । उनी भने कापीरहेका थिए । आफ्नै अगाडि कयौं साथीहरू छटपटाउँदै मृत्युको मुखमा पुगेको देखेका उनले, आफू बाँचेको कुरा नै सपना जस्तो लागेको छनक दिइरहेका थिए । ‘बिहान ६ बजेदेखि मिसाइलहरु पड्किन थाले । त्यसपछि हामी बंकरभित्र भाग्यौं ।

८ बजेतिर एक्कासी त्यहाँ हमासहरुको आक्रमण भयो । २ जान साथीहरुलाई गन हानेर त्यही मारिदिए ।’ कारुणीक स्वरमा चौधरी बोले ।

हिड्नै नसक्ने अवस्थाका चौधरीलाई विमानस्थलका कर्मचारीले ह्वीलचियरको सहायतामा विमानस्थल बाहिर ल्याएका थिए । लामो हवाई यात्रा, घाइते शरिर त्रासदीपूर्ण समयको साक्षीबन्दाको सन्नाटा आखामा प्रष्ट झल्किन्थ्यो । सञ्चारकर्मी कसैले पनि उनको अवस्था देख्दा प्रश्न सोध्न सक्ने अवस्था थिएन् । पत्रकारकै पनि आँखा रसाएका थिए ।

घटनाबारे चौधरीले बोलिरहेका थिए निरन्तर ‘एकछिन पछि हेर्दा कोही साथीहरूको खुट्टा नै थिएन् । कसैको के थिएन् । एकछिन पछि इजरायली प्रहरी आएर घाइते नभएकाहरूलाई अर्को बङ्करमा लग्यो । हामीलाई पुरानै बङ्करमा राखियो । त्यहाँ आक्रमण भएन । त्यसैले म बाँचे ।’ श्वासले मात्रै बालेका चौधरीले अरु साथीहरू गुमाउनेको पीडा पोखे ।

‘कति साथीहरू ओभर ब्लिडिङ भएर मरे । समयमा उपचार पाएको भए बाँच्थे ।’
घटना भएको ९ घण्टापछि मात्रै रेस्क्यू टोली पुगेको बताएका उनले अहिले पनि त्यो कहाली लाग्दो घटना विर्सन सकेका छैनन् ।

सपनामा पनि त्यही गोली लागेका साथिहरुलाई नै देख्ने गरेको बताए । ‘९ घण्टापछि रेस्क्यू टोली आयो ।
दोस्रो बंकरमा आक्रमण भयो त्यहाँ धेरै साथीहरू मरे । मिसिङ छन् साथीहरू उनीहरूलाई खोज्दिनु होला । साथीहरूको धेरै याद आउँछ । म सुत्न पनि सक्दिनँ । सपनामा देख्छु ।’

काँपेको र गलित स्वरमा चौधरीले अनुरोध गरे । ‘मेरो साथीलाई खोज्दिनु पर्‍यो ।’
घर फर्किन चाहने नेपालीहरूलाई लिन सरकारी निर्णयअनुसार विमान चार्टर गरेर परराष्ट्रमन्त्री एनपी साउद आँफै इजरायल पुगेका थिए । विमानमा धनबहादुरसहित २५४ जना आफ्नो जन्मथलो फर्किएका छन् । घर फर्किन पाउँदाको खुसी ओठमा देखिए पनि, आँखामा त्रासदीपूर्ण समयको बादल फाट्न बाँकी भए झै देखिन्थ्यो ।

आफन्त आउने खबरपछि विमानस्थल पुगेकाहरूले अंकमाल गर्दै हर्षका आशु बगाएपनि, फर्किएका धनबहादुर जस्तै अरुको पनि एउटै चाहाना छ । विदेशमा भएका अरु साथीहरू पनि सकुशल फर्किऊन् । हराइरहेका साथी विपिन जोशी चाँडै सम्पर्कमा आउन र घर फर्किऊन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्