चुनावी एजेन्डामा मात्र सिमित विराटनगरको चक्रपथ

चुनावी एजेन्डामा मात्र सिमित विराटनगरको चक्रपथ

विराटनगर । निर्माण सुरु भएको अढाइ दशक बितिसक्दा पनि कोशी प्रदेशको राजधानी विराटनगरको चक्रपथ पूरा हुन सकेको छैन । विराटनगर महानगरपालिका र आसापास जोडिएका गाउँपालिकाहरुलाई जोड्ने सो सडक निर्माण पूरा नहुँदा हालसम्म गरिएको लगानी पनि खेर जाने अवस्था आएको छ ।

२०५४ सालमा शिलान्यास भएको चक्रपथमा हिंँड्ने विराटनगरवासीको सपना २५ वर्ष बितिसक्दा पनि पूरा हुन नसकेको छैन । ४२ किलोमिटर लम्बाइको चक्रपथ हरेक निर्वाचनमा राजनैतिक दलहरूको चुनावी एजेन्डा हुने गरेको छ । तर निर्माणको काम भने लामो समयदेखि अवरुद्ध छ ।

योजनाको नाममा अहिलेसम्म करिब एक अर्ब रुपैयाँभन्दा बढी खर्च भइसक्दा पनि मुआब्जा वितरण र जग्गा प्राप्तिमै अलमल देखिएको छ ।

सडक निर्माण चाँडै सक्नका लागि स्थानीय जनप्रतिनिधिले सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै आएको बताएका छन् । प्रदेश सरकार र संघीय सरकारलाई पटक पटक पत्राचार गरी निर्माण कार्य पुनः सुरु गर्न भनिएको उनीहरुको भनाइ छ ।

२०५४ मा परिकल्पना गरिएको ४२ किलोमिटर चक्रपथ योजना मोरङ निर्वाचन क्षेत्र नम्बर ४ र ६ मा पर्छ । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नम्बर ४ मा तत्कालीन वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका अमनलाल मोदी र कांग्रेसका महेश आचार्य तथा क्षेत्र नम्बर ६ मा एमालेका लालबाबु पण्डित र कांग्रेसका शेखर कोइरालाको चुनावी मुद्दामा चक्रपथ समेटिएको थियो ।

त्यस बेला क्षेत्र नम्बर ४ बाट मोदी र ६ बाट पण्डित निर्वाचित भएका थिए । हालैको आम निर्वाचनमा पनि विराटनगर चक्रपथले चुनावी एजेन्डा बन्ने मौका त पायो तर निर्माण निरन्तर अघि बढाउने नेताहरुको प्रतिबद्धता भने पूरा हुन सकेको छैन ।

मसिना कन्सल्टेन्ट काठमाडौंले २०५४ मा तयार गरेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार सो योजना तत्कालीन कटहरी, भाथीगछ, हात्तीमुडा र झोराहाट गाविसलाई छुँदै विराटनगर महानगरलाई चारैतर्फबाट घेर्ने ४२ किलोमिटर लामो छ ।

योजनाका लागि झोराहाटदेखि हात्तीमुडासम्मको करिब दुई किलोमिटर क्षेत्रमा मुआब्जा विवादका कारण जग्गा प्राप्ति नहुँदा समस्या भएको हो । निर्माण सुरुताका योजनाका लागि ४२ करोड ७० लाख ७७ हजार अनुमानित लागत इस्टिमेट तयार गरिएको थियो ।

चक्रपथ निर्माणमा ढिलाइले गर्दा समस्या भइरहेको भन्दै उद्योगी–व्यवसायीले पनि समयमै निर्माण कार्य सक्नुपर्नेमा जोड दिंदै आएका छन् ।

स्थानीय बासिन्दाले भने सडक बनाउने भनेर आफूहरुले जग्गा दिए पनि अझैसम्म बन्न नसक्दा निरास हुनुपरेको बताएका छन् । कतिपयले जग्गाको मुआब्जा पनि पाउन नसकेको चक्रपथ निर्माण क्षेत्रका बासिन्दा अनिल ठाकुरको गुनासो छ ।

सुरुमा दुई लेनको चक्रपथ निर्माण गर्ने गुरु योजना तयार गरेर ४२ करोड ७० लाख ७७ हजारको लागतमा ट्रयाक खोल्ने र निर्माण कार्य सुरु गरिएको थियो । पछिल्लो समय प्रदेश सरकारको मातहतमा योजना सरेपछि चार लेनको निर्माण गर्ने गुरुयोजना तयार गरेर दुई अर्ब ५० करोड अनुमानित बजेट तोकिएको थियो ।

योजनाका लागि ट्रयाक खोल्ने र सडकको स्तरोन्नति गर्ने नाममा हालसम्म डिभिजन सडक कार्यालयले ३० करोड, सहरी विकास कार्यालयले ४० करोड, संघीय सरकारले १५ करोड, तत्कालीन विराटनगर उपमहानगरपालिकाले १० करोड खर्च गरेका छन् ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला आफू सानै छँदा चक्रपथको कुरा सुने पनि अझैसम्म बन्न नसक्नु दुखद भएको बताउँछन् । निर्माण अघि बढाउने काम तीव्र रुपमा गर्नका लागि महानगरले सम्बन्धित निकायमा दबाब दिने उनको भनाइ छ ।

पछिल्लो पटक प्रदेश सरकारको पूर्वाधार विकास कार्यालयले पाँच करोड रुपैयाँ विराटनगरको चक्रपथको नाममा खर्च गरिसकेको जनाइएको छ ।

२५ वर्षको अवधिमा ४२ किलोमिटरमध्ये ३७ किलोमिटरमा ट्रयाक खोल्ने, ग्राभेल गर्ने र त्यसमध्ये तीन किलोमिटरमा कालोपत्रे गर्ने काम भएको छ । त्यसका लागि टुक्राटुक्रा गरेर एक अर्बभन्दा बढी रकम खर्च भइसकेको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्