काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज अचार्यले बालिकाहरुको अधिकार संरक्षणका लागि सम्पूर्ण सरोकारवालबीच समन्वय आवश्यक रहेको बताएका छन् ।
‘‘ बालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी’’ भन्ने नारासहितको ११ औँ अन्तराष्ट्रिय बालिका दिवस विशेष कार्यक्रममा मन्त्री आचार्यले बालिकाको अधिकार स्थापित गर्न स्थानीय तह, प्रदेश सरकार, संघीय सरकार लगायत बालबालिकाको क्षेत्रमा क्रियाशिल अन्तराष्ट्रिय विकास साझेदार र नागरिक संघ संगठन तथा एजेन्सीबिचमा समन्वयात्मक र सहकार्यात्मक प्रयास हुनु जरुरी भएको बताएका हुन्।
बालबालिकाको क्षेत्रमा कार्य गर्दैै आएको तीनै तहका सरकार र निकाय, नागरिक समाज र विभिन्न संठनसँगै अन्तराष्ट्रिय विकास साझेदार र संयुक्त राष्ट्र संघका एजेन्सीबीचमा समन्वयात्मक प्रयास आवश्यक भएको उनको भनाई छ ।
उनले भने, ‘बालिकाहरुको अधिकार संरक्षण र संवद्र्धनमा विशेष गरी स्थानीय तह, प्रदेश सरकार र नेपाल सरकार तथा युनिसेफ लगायत यस क्षेत्रमा कार्यरत तथा क्रियासिल अन्य युएन एजेन्सी,विकास साझेदार, नागरीक समाज,संगठन,सञ्जाल र नेटवर्कहरुबीचमा समन्वयात्मक र सहकार्यात्मक प्रयास हुन जरुरी छ ।’
त्यसै यस क्षेत्रमा सरकारले थप लगानी बढाउन आवश्यक रहेको उनको भनाई छ ।
कार्यक्रममा सातै प्रदेशबाट प्रतिनिधित्व गर्दै कार्यक्रममा सहभागी बनेका प्रतिनिधि बालिकाले उनीहरुले भोग्दै आएका समस्याबारे सम्बद्ध सरोकारवाको ध्यानाकर्षण गराएका थिए ।