रेष्टुरेन्ट र हवाइजहाज चलाउने एउटै ऐन हुँदा समस्याः मन्त्री किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालमा रेष्टुरेन्ट चलाउने ऐन र हवाइजहाज चलाउने ऐन एउटै भएको बताएका छन् ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा आज भएको छलफलमा उनले हवाई कम्पनी वा हवाई क्षेत्रमा धेरै संकट भएको उल्लेख गरे ।

चिनियाँ जहाजको सन्दर्भमा उनले त्यसलाई चलाउने प्रक्षिणयुक्त पाइलट नभएको साथै त्यसका पार्टपूर्जाहरु नपाइने समस्याका कारण बन्द गरिएको बताए ।

उनले भने, ‘त्यसै पनि हवाई क्षेत्रमा संकट नै छ, रेष्टुरेन्ट चलाउने ऐन र हवाइजहाज चलाउने ऐन एउटै छ नेपालमा, त्यसमा चिनियाँ जहाजको सन्दर्भमा हामी आएर बन्द गरेको होइन, अगाडिको सरकारले नै पारित गर्दै नउडाउनु भनेर बन्द गरिएको हो । चिनियाँ जहाजका लागि प्रक्षिणयुक्त पाइलट नभएको, यसको पार्टहरु नभएको यस्ता समस्याका कारण बन्द गरिएको हो ।’

यस्तै, उनले चिनियाँ जहाजका सम्पूर्ण सामानहरु नपाउने हुँदा घाटा लाग्ने भन्दै यसको निकासका लागि पटकपटक समिति गठन हुँदा पनि समस्या समाधान नभएको बताए ।

उनले भने, ‘चिनियाँ जहाजको सम्पूर्ण सामानहरु नपाउने भएको र धेरै घाटा लाग्ने कारणले गर्दा यसको निकासका लागि पटकपटक समिति गठन भएको छ । हामीले लिजको लागि पनि पहल गरेका थियौं कोही आउँदैनन् ।’

प्रतिनिधि सभाअन्तरगत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले वायु सेवा निगम डुबाउनका लागि को को कारक तत्व हुन् उनीहरुलाई दण्डित गर्नु आवश्यक भएको बताए ।

आज समितिमा अभिलेख संरक्षण ऐन २०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि भएको छलफलमा उनले यस्तो समस्यालाई बुँदागत हिसाबले समाधानका लागि समितिले सकारात्मक पहल गर्ने बताए ।
उनले भने, ‘वायु सेवा निगम डुब्यो भनेर जो भन्छौ, यो डुबाउन को को कारक तत्व थिए ? उनीहरुलाई दण्डित गर्नुपर्ने आवश्यकता छ कि छैन् ? यो गम्भीर विषय हो र यसलाई त्यसैगरी अघि लानुपर्छ । बुँदागत हिसाबले समस्या र समाधानका लागि समितिले सकारात्मक पहल गर्ने जानकारी गराउन चहान्छु ।’

बैठकमा अभिलेख संरक्षण ऐन २०४६ लाई संशोधन गर्न बनेको विधेयकको सन्दर्भमा कानून मन्त्रालयलाई जानकारी गराउँदा पनि तयारीबिना आएको भन्दै उनले आक्रोस व्यक्त गरे ।

उनले भने, ‘कानून मन्त्रालयको तर्फबाट यो समितिलाई त्यति महत्व नदिएको हो वा के कारणले तयारी पुगेन यो गम्भीर कुरा हो । हामीले कानून मन्त्रालयलाई कानूनी हिसाबमा यो विधेयकमाथि छलफल गर्दैछौ भनेका हों, यसबारेमा पहिला नै तयारी पुगेन भनेर जानकारी गराउनुपर्ने थियो । राज्यका जिम्मेवार निकाय भइसकेपछि कुनै पनि बहाना गर्न मिल्दैन । जो समितिमा आउँछ तयारीका साथ आउनु होला ।’

सभापति यादवले उक्त विधेयकलाई समृद्ध बनाउनको लागि समितिका तर्फबाट अध्ययन भइरहेको भन्दै अर्को बैठक राखेर यो विधेयकको बारेमा विस्तृत रुपमा छलफल गर्ने बताए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्