काठमाडौं । राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी रावलले राष्ट्रिय सुरक्षा र परराष्ट्र नीतिबारे दलहरुबीच साझा धारणा बन्नु पर्ने बताएकी छन् ।
बुधबार बसेको बैठकमा उनले सरकारले गरेको काम निष्कर्षमा पुर्याउन नसकेको अवस्था विद्यमान रहेको बताइन् ।
रावलले भनिन्, ‘राष्ट्रिय सुरक्षा र परराष्ट्र नीतिका बारेमा दलहरुबीच साझा धारणा बन्नु पर्छ । नेपाल–भारत सीमा समस्याको रुपमा छ । सरकारले धेरै समय अघि बनाएको इपीजी रिपोर्ट अहिलेसम्म सार्वजनिक भएको छैन । सरकारले काम गरेको तर निष्कर्षमा पुर्याउन नसकेको अवस्था छ । यसको अन्त्य गर्नु पर्छ ।’
उनले धेरै विषयमा राष्ट्रिय सहमति बन्नु पर्ने बताइन् । उनले इपीजीको विषयमा छुट्टै बैठक बसेर छलफल गर्ने कार्ययोजना समेत भएको जानकारी दिइन् ।
मुख्य राजनीतिक दलहरु तथा परराष्ट्र मन्त्रालयसँग बसेर छलफल गर्ने र आवश्यक निर्देशन दिने कामहरु गर्ने उनको भनाई छ ।