काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले महात्मा गान्धी नेपालका युवा र राजनीतिकर्मीहरुका लागि गान्धी प्रेरणाको स्रोत भएको बताएका छन् ।
सोमबार काठमाडौँमा आयोजित १५४औं गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवस–२०८० विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्वको भूगोलको जुनसुकै क्षेत्रमा पनि गान्धीले मानवतालाई एउटा बाटो दिएको भन्दै उनी नेपालको युवा, राजनीतिकर्मी र सबैका लागि प्रेरणाको स्रोत भएको बताएका हुन् ।
उनले भने, ‘विश्वको भूगोलको जुनसुकै क्षेत्रमा पनि चाहे उत्तर अमेरिका होस् या दक्षिण अमेरिका युरोप होस् या अस्ट्रेलिया होस् जुन सुकै ठाउँमा पनि गान्धीले मानवतालाई एउटा बाटो दिनुभएको छ । सभ्यतालाई सँगसँगै बस्न सिकाउनु भएको छ । आज पनि नेपालका युवाहरू, नेपालका राजनीतिकर्मीहरु सबैका लागि गान्धी प्रेरणाको स्रोत हुनुन्छ ।’
उनले नेपालीहरु राजनीतिक फाँटमा जहाँ भएता पनि अतीतमा जुनसुकै फरक विन्दुमा उभिएको भए पनि भविष्य एउटै गराउने गरेर समृद्ध र सुन्दर नेपाल निर्माण गर्ने बाटोमा जाने अठोट लिएको बताए ।
उनले भने, ‘हामीले राजनीतिक फाँटमा जहाँ भएता पनि अतीतमा जुनसुकै फरक फरक विन्दुमा उभिएको भए पनि भविष्य एउटै गराउने गरेर समृद्ध र सुन्दर नेपाल निर्माण गर्ने बाटोमा जाने अठोट लिएका छौं ।’














