काठमाडौं । शहरी विकास मन्त्रालयका निमित्त सचिव पदम कुमार मैनालीले संघीयतालाई समेत सम्बोधन गर्ने गरी राष्ट्रिय शहरी नीति छिट्टै ल्याउने बताएका छन् ।
‘विश्व बसोबास दिवस २०८०’ को अवसरमा सोमबार आयोजित कार्यक्रममा उनले शहरी क्षेत्रको व्यवस्थित व्यवस्थापन र सबैको पहुँच मापन गर्न शहरी पूर्वाधार अवस्था सूचकांक र शहरी प्रतिस्पर्धी सूचकांक लगायतका सूचकांकलाई समावेश गरी राष्ट्रिय शहरी नीति परिमार्जन गर्न लागेको बताए ।
उनले नीति परिमार्जनको अन्तिम चरणमा रहेकोले छिट्टै परिमार्जित राष्ट्रिय शहरी नीति आउने जानकारी गराए ।
‘हामीले केही कुराहरु शहरी विकास मापनका सूचकांकबाट लिएका छौ । त्यसलाई कसरी लिएका छौ भने एउटा अलग्गै नगरपालिकाहरुको विशेषतालाई लिएका छौ । त्यसको आफ्नै नियम हुन्छ, त्यसको आफ्नै परिचय,कल्चर,टुरिजम हुन्छ । त्यसपछि त्यसले ल्याउने कारणलाई हामीले कन्सिभ गर्न थालेका छौ,ताकि त्यसको कमाण्ड एरिया कति हो, सहरी क्षेत्रमा त्यसको जोडिएको सम्बन्ध कति हो र त्यसमा सेवा, सूविधा,वस्तुको विनिमय कसरी हुन्छ भन्ने हेर्न खोज्छौ ।’ उनले भने,‘ त्यो संगसंगै अर्को सहरी करिडोरले राष्ट्रिय अर्थतन्त्रमा कसरी प्रभाव पार्छ भनेर हेर्न थालेका छौ । त्यसैको आधारमा सहरी विकास मन्त्रालयले नीति परिमार्जन गर्न खोजेको छ ।’
अहिलेको पहिलो प्राथमिकता राष्ट्रिय शहरी नीति नै भएको उनको भनाई छ ।
‘पहिला राष्ट्रिय शहरी नीति नै हो । त्यो नीति संघीयता आइसकेपछि परिमार्जन हुँदै छ । छिट्टै नीति परिमार्जित भएर आउँछ किनभने त्यसको धेरै मस्यौदाहरु धेरै ठाउँमा छलफल गरीसकेका छौ । संघीयतालाई समेत सम्बोधन गर्ने गरी राष्ट्रिय शहरी विकास रणनीतिको कार्यान्वयन अर्को नीति परिमार्जनको एजेण्डा हो भने शहरी विकास ऐन जसले केही तहको भौतिक योजनाहरु आफ्नै तहमा पास गर्न सक्ने गरी अधिकार प्रत्यायोजन गर्ने भन्ने खालको कानून दिनुपर्ने स्थिति छ । त्यसको लागि ड्राफ्ट बनिसकेको स्थिति छ ।’
उनले सहरी क्षेत्रमा सबैका लागि आवास र आवासमा पहुँच नै चुनौतीको रुपमा रहेको उल्लेख गर्दै त्यसमा सहरी विकास मन्त्रालय सजग हुनुपर्ने अवस्था रहेको र केही सूचकांकको आधारमा आवश्यक कुरा पहिचान गरी कार्य गर्न लागेको उल्लेख गरे ।
उनले भने,‘शहरी विकास मन्त्रालय यो सबै कुराका लागि संयोजक र लिडर पनि हो । संयोजक हुँदा हामीले एक दुई वटा कुरामा काम गर्न खोजेका छौ । मुख्यगरी सहरी पूर्वाधार अवस्था सूचकांक जसलाई हामी अहिले पहिचान गर्न खोजेका छौ र शहरी नीतिमा यो नै हाम्रो मुख्य सूचकांक हो । त्यसले नै शहरको अवस्था कस्तो छ भनेर बताउँछ । अर्को शहरी प्रतिस्पर्धी सूचकांक हो । कुन शहरी एरिया कति प्रतिस्पर्धी छ भन्ने कुरा यसमा हेर्नुपर्ने भयो ।’
उनले शहरी क्षेत्रको विकास गर्दा शहरलाई प्रोडक्टको रुपमा कसरी विकास गर्ने भन्ने विषयमा ध्यान दिने बताए ।