राजीव गुरुङ भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री नियुक्त, भयो शपथ

राजीव गुरुङ भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री नियुक्त, भयो शपथ

पोखरा ।  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङ्गे) लाई प्रदेशको भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्रीमा नियुक्ति गरेका छन्।

गुरुङलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिँदै मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद् पुनःगठन गरेको मुख्यमन्त्रीका प्रेस संयोजक नरहरि सापकोटाले जानकारी दिए । गुरुङले आइतबार मात्रै नेकपा (एकीकृत समाजवादी) सँगको दलीय आबद्धता परित्याग गरी स्वतन्त्र हैसियतमा रहेको दाबी गर्दै प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका थिए।

पुनःगठित मन्त्रिपरिषद्मा कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको थप जिम्मेवारी दिइएको सापकोटाले जानकारी दिए ।  नवनियुक्त मन्त्रीको शपथ समेत भैसकेकाे छ । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री सोमबार  पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

शपथग्रहण समारोहमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सभामुख कृष्णप्रसाद धिताल, सरकारका मन्त्री तथा उच्चपदस्थ अधिकारी उपस्थिति थियो ।

शपथपछि पत्रकारसँगको कुराकानीमा मन्त्री गुरुङले चुनावपछिको एक वर्षसम्म आफू आराम गरेर बसेको जनाउँदै अबको चार वर्ष राजनीति गर्ने बताए । केन्द्रमा जे समस्या आएर गठबन्धन फेरिए पनि त्यसको असर प्रदेशमा पर्न नहुने उल्लेख गर्दै उनले आफू अहिले सरकारमा नजाँदा गण्डकी प्रदेशमा मध्यावधि निर्वाचनको सम्भावना रहेको र चुनावमा जाँदा खर्च धेरै हुने बताए । आफूले मध्यावधिमा जान नदिने र गएछ भने चुनाव पनि नलड्ने उनको भनाइ छ ।

सरकारको ७० प्रतिशतभन्दा बढी बजेट भौतिक पूर्वाधार मन्त्रालयमा हुने र भ्रष्टाचार पनि धेरै हुने भएकाले त्यसको नियन्त्रणका लागि आफूले उक्त मन्त्रालय रोजेको उनको भनाइ छ । विकास त्यतिकै भइहाल्ने जनाउँदै उनले भ्रष्टाचार रोक्नुुपर्ने आवश्यकता औँल्याए।

यसअघि भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का रेशमबहादुर जुग्जाली र सामाजिक विकासमन्त्रीमा सुशीला सिम्खडा मन्त्री रहेका थिए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्