दयारानी सिंगापुरमा प्रदर्शन, दर्शकले गरे तारिफ

दयारानी सिंगापुरमा प्रदर्शन, दर्शकले गरे तारिफ

पोखरा । नेपाली फिल्म दयारानी सिंगापुरमा प्रदर्शन गरिएको छ । सिंगापुरमा रहेको कार्निभल्स सिनेमाजमा दुई दिन भएकाे प्रदर्शनमा  ७ सय ५० जना दर्शकले हेरेको फिल्मका निर्देशक माओत्से गुरुङले नेपाल अहिलेलाई बताए । एनसी इन्टरटेन्मेन्टको आयोजनामा सिंगापुरमा रहेका नेपाली फिल्म प्रेमी दर्शकको लागि फिल्म देखाइएको हो । फिल्म प्रदर्शन कार्यक्रमका लागि निर्देशक गुरुङ समेत सिंगापुरमा छन् । सिंगापुरमा दर्शकले फिल्मलाई मनपराएको र निर्माण युनिटले गरेको कामको तारिफ समेत गरेको निर्देशक गुरुङले खुलाए ।

दयारानी फिल्म नेपालमा तेस्रो हप्तामा प्रदर्शन भैरहेको छ । यसका अलावा विभिन्न देशमा प्रदर्शन भैसकेको फिल्मलाई दर्शकले रुचाएका छन् । केही देशमा प्रदर्शन हुने क्रममा रहेको समेत निर्देशक गुरुङले बताए ।

फिल्ममा दयाहाङ राई, दीया पुन, बिजय बराल, पुष्कर गुरुङ, प्रमिस गुरुङ, नयन गुरुङ, श्रृसा कुँवर, सुर्य सुनुवार, राजेन्द्र थापा, टिकाराम घले, सीता गुरुङ आदि कलाकारको अभिनय रहेको छ । कास्कीको याम्जाकोट र पोखरा आसपास छायाकंन भएको यो फिल्म हेर्दा दर्शकले गुरुङ गाउँमा नै पुगेको महशुस गर्न पाउँछन् ।

यस अगाडि ९ वटा गुरुङ फिल्म निर्देशन गरिसकेका माओत्सेले मुलधारको नेपाली फिल्मको निर्देशकको रुपमा समेत आफ्नो उपस्थिति बलियो बनाउन सफल भएका छन् । हिट फिल्मको सूचिमा दयारानीले स्थान बनाउने देखिएपछि निर्देशक गुरुङ उत्साहित बनेका छन् । फिल्मले ३ करोडको हाराहारीमा कलेक्सन गरिसकेको छ ।

दयारानी २ समेत बन्ने निश्चित बनेकोले निर्देशक गुरुङलाई अगाडि बढ्न समेत यसले हौसला प्रदान गरेको छ । हुनत नेपाली फिल्मी क्षेत्रमा कलाकारको रुपमा माओत्सेको व्यस्तता कायमै छ । अब लेखन तथा निर्देशनमा समेत उनको व्यस्तता थप बढ्ने आशा गर्न सकिन्छ ।

माओत्से गुरुङ फिल्मको ब्यानर तथा बाँसुरी फिल्मकोस्को प्रस्तुतीमा यो फिल्म निर्माण भएको हो । मोहन गुरुङ टिला, न्यू आइटी भेन्चर जापान, किरण गुरुङ, केन्द्र लिम्बु, मेजर खुशीमान गुरुङ, सुरेन्द्र गुरुङ, सुर्य प्रकाश गुरुङले फिल्ममा लगानी गरेका छन् । विदेशमा फिल्म वितरणको जिम्मा सेभेन सीज इन्टरटेन्मेन्टले पाएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्