काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याण्डलिङको विषयमा कुनैपनि कुरा नउठाउन कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
आईतवार नेपाल नागरिक उड्डयन प्राधिकरणको २५ औँ वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै मन्त्री किराँतीले ग्राउण्ड ह्याण्डलिङको विषयमा कर्मचारीहरुले अनावश्यक चासो राखेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । उनले नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याण्डलिङको विषय सरकारको निर्णयको कुरा भएको भन्दै कर्मचारीहरुले अनावश्यक कोकोहोला गर्नु आवश्यक नभएको बताए।
उनले ग्राउण्ड ह्याण्डलिङको कुरा प्रधानमन्त्री र देशका ठूला राजनीतिक दलहरुको सरोकारको विषय भएको भन्दै कर्मचारीलाई यस विषयमा नबोल्न निर्देशन दिए । उनले देशलाई वायुसेवा निमग चाहिने र त्यसलाई बचाउनका लागि ग्राउण्ड ह्याण्डलिङ पनि चाहिने स्पष्ट पारें । कर्मचारीले यस विषय उठाएमा नीति र नेतृत्वमाथिको हस्तक्षेप हुने उल्लेख गर्दै मन्त्री किराँतीले कुरा उठाएमा राम्रो नहुने चेतावनी समेत दिए ।
मन्त्री किराती कर्मचारी ट्रेड युनियनका नेताहरुमाथि समेत खनिए। उनले कर्मचारीहरुले धेरै नीतिगत कुरा गरेको भन्दै भाषण गर्ने कर्मचारी नै प्रधानमन्त्री हो कि जस्तो लागेको भनेर व्यंग्य गरें। उनले नीतिको चिन्ता प्रधानमन्त्री, मन्त्रीहरुले गर्ने भन्दै नेतृत्वले बनाएको नीतिमा कर्मचारीहरु हिँड्नुपर्ने बताए । उनले कर्मचारीहरुलाई आफ्नो परिधिभित्र बस्न र नीतिमाथि हस्तक्षेप नगर्न दिर्नेशन समेत दिए।
मन्त्री किरातीले नेपाल नागरिक उड्डयन प्राधिकरणको तीनवटा तत्कालिन कार्याभार रहेको बताए । उनले यात्रुहरुको सुरक्षा गर्नु पहिलो कार्यभार रहेको उल्लेख गर्दै ईयुले पठाएको कालोसूचीबाट हटाउन सुधार गर्नुपर्ने १२ बुँदा अक्षरशः पालना गर्नुपर्ने दोस्रो कार्यभार रहेको बताए । त्यस्तै यात्रुमैत्री वातावरण बनाउनु तेस्रो कार्यभार रहेको उनको भनाई छ । उनले न्युनतम स्रोत, साधनको उच्चतम प्रयोग गरेर विमानस्थललाई राम्रो बनाउनुपर्ने बताए ।
मन्त्री किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा, भैरहवा र निजगढको विमानस्थल पीपीपी मोडलमा निर्माण गरिने पनि बताए ।