काठमाडौं । पशुपति क्षेत्र विकास कोषमा कार्यकारी निर्देशकमा नियुक्त लक्ष्मी पुनको योग्यतामाथि सांसदहरुले प्रश्न उठाएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले हालै पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा लक्ष्मी पुनलाई नियुक्त गरेसँगै सांसदहरुले यसको बिरोध गरेका हुन् ।
बिहीवार अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै सांसदहरुले कार्यकारी निर्देशकमा नियुक्तिका लागि पुनको योग्यतामाथि प्रश्न उठाएका हुन् । सांसदहरुले उहाँको शैक्षिक योग्यता, अनुभव र धर्म लगायतका विभिन्न विषयहरुमाथि प्रश्न तेर्साएका हुन् ।
बैठकमा बोल्दै नेकपा(एमाले)का सांसद एकनाथ ढकालले पुनको नाम समानुपातिक उम्मेदवारको सुचिमा रहेको उल्लेख गर्दै यस्तो व्यक्ति राज्यको कुनैपनि निकायमा नियुक्त हुन नसक्ने बताए । उनले यस्तो विवादित व्यक्तिलाई पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक बनाउनु नहुने धारणा राखे ।
उनले भने – ‘हाम्रो ऐनमा कुनैपनि व्यक्ति यदी समानुपातिक उम्मेदवार छ भने त्यो कायम रहँदासम्म राज्यको कुनैपनि नियुक्ति हुन नसक्ने प्रावधान छ । निर्वाचन आयोगको वेवसाइटमा हेर्दाखेरी लक्ष्मी पुनको नाम अहिले पनि समानुपातिक उम्मेदवारको रुपमा सूचिकृत भएको देखिन्छ । त्यसले गर्दाखेरी यि कुराहरु के हुन् ? हामी सबैको आस्थाको केन्द्र पशुपतिनाथमा हुने कामहरु सकभर कम विवादित हुनुपर्छ भन्ने हामीलाई लाग्छ । यो विषयमा प्रष्ट बनाउनु हुन सदस्यसचिव अथवा मन्त्रालयका सचिवज्युलाई आग्रह गर्दछु ।’
ढकालले पशुपति क्षेत्र विकास कोषमा धेरै कर्मचारीहरु नियुक्त गर्ने गरिएको भन्दै कुन कानून र नियमावलीमा टेकेर कर्मचारी नियुक्त गरिएको हो भनि प्रश्न समेत गरें । उनले कर्मचारी नियुक्तिको मापदण्डबारे पनि प्रष्ट पारिनुपर्ने बताए ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले कार्यकारी निर्देशक नियुक्तिको मापदण्ड पूरा नभएकाले प्रश्न उब्जिएको बताए । उनले कानून बमोजिम नियुक्ति भए, नभएको सन्दर्भमा सम्बन्धित निकायले प्रष्ट्याउनुपर्ने बताए।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा सत्तारुढ नेकपा(माओवादी केन्द्र)को केन्द्रिय सदस्यलाई नियुक्त गरिएको भन्दै आफ्नो कार्यकर्ता नैतिक रुपले राख्न नमिल्ने बताए । उनले सो नियुक्तिमा योग्यताको समेत ख्याल नगरिएको बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल समशेर जबराले लक्ष्मी पुन क्रिश्चियन धर्मावलम्वी भएको प्रचार रहेको उल्लेख गर्दै यदी सो कुरा सत्य भएमा राज्यले हिन्दु धर्मावलम्वीहरुप्रति अन्याय र अपराध गरेको ठहर्ने बताए । उनले पुनको धर्म र शैक्षिक योग्यतामाथि छानविन गर्नुपर्ने माग गरें ।
उहाँले भने– ‘लक्ष्मी पुन क्रिश्चियन धर्मावलम्वी हो भन्ने व्यापक प्रचार छ । यो विषय गम्भिर छ । उहाँ क्रिश्चियन हुनुहुन्छ भने अनर्थ गरेको हो । हाम्रो विश्वासमाथि कुठाराघात गरेको हो । हिन्दुको आस्थाको केन्द्रमा अर्को धर्मावलम्वी हुनु हुँदैन । छानविन हुनुपर्यो । उहाँ क्रिश्चियन हुनुहुन्छ भने घोर अन्याय र अपराध गरेको राज्यले ठहर्छ । हिन्दु नै हो भने मलाई भन्नु केही छैन । योग्यता छानविन गर्नुपरो । सर्टिफिकेट हुनुप¥यो। निर्देशिकामा मापदण्ड पूरा गर्नुहुन्छ भने ठिकै छ ।’
नेकपा(माओवादी केन्द्र)की सांसद छिरिङ ल्हामु लामा (तामाङ)ले पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा नियुक्त लक्ष्मी पुनमाथिको आक्रमण महिला, जनजाति र कर्णाली भेगमाथि भएको प्रहार भएको बताए । पुनको योग्यतामाथि प्रश्न उठाएर दुर्व्यवहार र अपमान गरिएको भन्दै आपत्ति प्रकट गरें । उनले पुन क्रिश्चियन धर्मावलम्वी भएको प्रचार गरिएको भन्दै यसको बिरोध गरें । पुन हिन्दु धर्मावलम्वी भएको उनको भनाई छ ।
पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव राजुकुमार खत्रीले पुनको शैक्षिक योग्यता स्नातकोत्तर उत्तिर्ण रहेको बताए । १५ वर्षे अनुभव भने विभिन्न मिडिया, एफएमहरुमा काम गरेको देखिएको उनको भनाई छ ।
उनी भन्छन् – ‘शिक्षणसंस्थाबाट कुनै विषयमा स्नात्तकोत्तर तह उत्तिर्ण गरी कोष सेवा वा सरकारी सेवामा प्रचलित कानून बमोजिम दर्ता भएको संगठित संस्था वा अन्तर्राष्ट्रिय संघ, संस्थाको कम्तिमा अधिकृत द्वितिय श्रेणीसरहको पदमा कम्तिमा १५ वर्षको अनुभव भनेको एउटा छ । अर्को, मान्यताप्राप्त शिक्षण संस्थाबाट कुनै विषयमा स्नातक तह उत्तिर्ण गरी कोषको सेवा, सरकारी सेवा वा प्रचलित कानून बमोजिम दर्ता भएको संगठित संस्था वा अन्तर्राष्ट्रिय संस्थामा अधिकृत पदमा कम्तिमा २० वर्ष सेवा गरिएको भनिएको छ । उहाँको योग्यताको हकमा उहाँले मदन भण्डारी कलेजबाट डिग्री उत्तिर्ण गर्नुभएको छ । गोवा विश्वविद्यालयबाट ब्याचलर सकिएको छ । योग्यता अन्य १५ वर्षको कुरामा चाहीँ उहाँले विभिन्न मिडिया, एफएमदेखि लिएर विभिन्न मिडियामा उहाँले कार्य गर्नुभएको योग्यता बुझाउनुभएको छ ।’
सांसदहरुले पशुपति क्षेत्र विकास कोषका अन्य विभिन्न गतिविधिहरुमा पनि प्रश्न उठाएका थिए ।