नेपालमा रोजगारी पाइँदैन, यहाँ आउने बित्तिक्कै काम पाइन्छ: बोहरा

नेपालमा रोजगारी पाइँदैन, यहाँ आउने बित्तिक्कै काम पाइन्छ: बोहरा

पिथौरागढ । बझाङको देउलेकका परमले बोहरा ३५ वर्षदेखि भारतीय सहर पिथौरागढमा भारी बोक्दै आहेका छन् ।

उनी भारी बोकेरै पाँच छोराछोरीको लालनपालन गर्दै आहेका छन् । पिथौरागढको सिमलगैर बजारमा मजदुरी गर्दै आहेका बोहरा भारी बोकेर पाउने रकमले घरखर्चको जोहो गर्न सहज भएको बताउ छन् । “नेपालमा रोजगारी पाइँदैन, यहाँ आउने बित्तिक्कै काम पाइन्छ”, नौ वर्षको उमेरदेखि पिथौरागढमा भारी बोक्दै आहेका बोहराले भने ।

उनले केही वर्ष भारतको दिल्ली र बेङ्लुरुमा पनि मजदुरी गरें । पिथौरागढमा भारी बोक्ने बोहरा एक्लै मात्र होइनन् । उनले जस्तै सुदूरपश्चिम र कर्णली प्रदेशका सयौँ नेपाली भारतीय सहरमा मजदुरी गरेरै घरखर्च चलाउँदै आएका छन् । “यहाँ भारी बोक्ने काम प्रायः नेपालीले मात्र गर्ने गरेका छन्”, बोहराले भने ।

नेपालमै पसिना बगाउने आफ्नो रहर भए पनि बाध्य भएर विदेशी भूमिमा भारी बोक्नु परेको दुखेसो गर्नुभयो । “गाउँमा पहिलाभन्दा अहिले रोजगारी त पाउने गरेको छ, तर मजदुरी गर्न पनि राजनीतिक भेदभाव हुने गरेको छ”, बोहराले भने । भारतमा पनि मजदुरी गर्न सहज नभएको उनको भनाइ छ ।

“कुनै दिन काम नपाएर भोकै सुत्नुपर्ने बाध्यता पनि छ”, उनले भने–“यहाँ पनि कहिले काम पाइन्छ कहिले पाइँदैन, काम गर्न आउने नेपालीको सङ्ख्या अत्यधिक छ ।” बोहरासँगै रोजगारीका लागि आएका तीन जना मिलेर रु दुई हजार भाडा तिरेर कोठा भाडामा लिएर बोहरा बस्दै आहेका छन् । मजदुरी गर्न आउने जाने क्रम चलिरहन्छ । उनीहरुले घरको खेतीपाती पनि आफैले गर्नुपर्ने बाध्यता छ ।

“यहाँको कमाइले लत्ताकपडा लगेर घर जान्छौँ”, बोहराले भने, “पैसा अभावले छोराछोरीलाई स्कुल पढाउन सकेको छैन ।” बैतडीको पुर्चाैडी नगरपालिका–८ मल्लादेहीका परमानन्द जोशी पनि रोजगारीका लागि पिथौरागढ पुगेका छन् । उनी खेतीपातीको काम सकेर रोजागरी खोज्दै पिथौरागढ पुगेका हुन् । “मजदुरी गरेबापत दैनिक रु छ सय पाइन्छ”, जोशीले भने, “घरबाट आएको केही दिनमात्रै भयो ।”

उनले ४० वर्षदेखि भारतमा मजदुरी गर्दै आहेको बताए । स्वदेशमा परिवार पाल्नका लागि कुनै सीप नचलेपछि बाध्य भएर विदेशिनुपरेको उनले गुनासो गरें । जोशीका तीन छोरा छन् । आर्थिक अभावकै कारण उनीहरुलाई पढाउन नसकेको उनी बताउ छन् । “एउटा छोरा रोजगारीका लागि भारतकै बैङ्लुरु गएको छ । दुई छोरा घरमै छन्”, जोशीले भने, “छोराले पनि नेपालमा रोजगारी पाउन सकेनन् ।”

पिथौरागढको बजार पस्दा घरदेश छाडेर मजदुरी गरिरहेका सयौँ नेपाली भेटिन्छन् । तीस वर्षअघि सुदूरपहाडका नेपाली पिथौरागढ पुगेर घिउ बेच्थे । घिउ बेचेर नुन र लत्ताकपडा किन्थे । पहिले वस्तु र बस्त्रको व्यापार हुन्थ्यो । अहिले पसिनाको व्यापार चलेको छ । बैतडीको पुर्चाैडीका उत्तमसिंह धामीको पनि उही बाध्यता छ । “यहाँ मजदुरी गरेर घरखर्चको जोहो गर्न थालेको ३५ वर्ष भयो”, धामीले भने, “छ महिना स्वदेशमा घरखेतको काम गरेर छ महिना यहाँ मजदुरी गर्न आउँछौँ ।” बैतडीमा रहेको फलाम खानी उत्खनन गरे आफूहरुले घर नजिकै रोजगारी पाउन सक्ने उनको भनाइ छ ।

“हाम्रो देशमा रोजगारी पाउने धेरै सम्भावना छन । मेरो जिल्ला बैतडीमा फलाम खानी छ । सरकारले उत्खनन त गर्नुपर्‍यो”, उनले भने, “सरकारीस्तरबाट स्वदेशमै रोजगारीका लागि पहल नभए अब आउने पुस्ता पनि हामी जस्तै परदेशमा भारी बोक्न बाध्य हुनेछन् ।” पिथौरागढको पुरानो नाम ‘सोर’ हो ।

कर्णाली नदीमा पुल बन्नु अघिसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्लाका नागरिक नुन लिन पिथौरागढ नै पुग्ने गरेका थिए । अहिले पनि उपचार र किनमेलका लागि उनीहरू पिथौरागढ धाउँछन् । पिथौरागढ बजार क्षेत्रमा पुग्दा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका सयौँ नेपाली भारी बोक्दै गरेका भेटिन्छन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्