काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले युवा पुस्तामा क्षमता, योग्यता, कल्पनाशीलता र समर्पण छ भने डिजिटल प्लेटफर्म ठुलो सम्भावनाको क्षेत्र भएको बताएका छन् ।
सिआइएन युथ इन्टरपेनियर फोरम नेपाल स्टार्ट अप फेस्ट २०२३ को उद्घाटन गर्दै उनले डिजिटल प्लेटफर्मले हरेक व्यक्ती र क्षेत्रलाई अवसर दिने बताए ।
उनले भने, ‘यो अवसर सबैका लागि उपलब्ध छ, त्यसले युवा उद्यमीहरु सहज महसुस गर्छन् । त्यसैले सरकारले आईटी नीति बजेटमार्फत् व्यवहारिक कार्यान्वयनतर्फ लगिएको छ, ५० प्रतिशतभन्दा थोरै हामीले कर लगाउने व्यवस्था गरेका छौं । र, जसको व्यवसायले फड्को मार्दैछ र नेपाल बाहिर पनि सुरुवात गर्न चाहन्छ, उनीहरुका लागि पनि आफूले कमाएको आम्दानीको केही हिस्सा बाहिर लगानी गर्न सक्ने व्यवस्था गरिएको छ ।’
आउँदा दिनमा आईटी नीति अझ सहज हुने जानकारी दिदैँ उनले नेपाली युवाहरूलाई जुन क्षेत्रमा काम गर्ने मन छ, त्यसमा सहजीकरण गर्न सरकार तयार रहेको बताए ।
उनले नेपालको आर्थिक विकासमा सूचना प्रविधि क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको भन्दै यसमा सरकारले सकेसम्म योगदान गर्ने बताए ।