काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एकै दिन सर्वाधिक भौतिक उपस्थितिमा विद्यार्थीहरूलाई दीक्षित गरेको छ । आज दशरथ रंगशालामा आयोजित त्रिविको ४९ औं दिक्षान्त समारोहमा २६ हजारभन्दा बढी दीक्षित भएका छन् ।
अफिसियल वल्र्ड रेकर्ड एसोसिएसन (ओडब्लुआर)का प्रतिनिधिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्व कीर्तिमानको प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।
सोमबार ४९औं दीक्षान्त समारोहमा विभिन्न संकाय र तहमा उपाधिप्राप्त १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल प्रचण्डबाट विद्यार्थीहरु दीक्षित भएका हुन् ।
सोही समारोहमा ओडब्लुआरका दिल्ली र काठमाडौंस्थित प्रतिनिधिले त्रिविको रेकर्ड, दीक्षान्तका लागि विद्यार्थीहरूले दिएको आवेदन तथा भौतिक उपस्थिति हेरेर प्रमाणपत्र दिएको त्रिवीले जनाएको हो ।
आज २६ हजारभन्दा बढीले दीक्षान्तका लागि फाराम भरेको र झन्डै त्यति नै संख्यामा विद्यार्थी र उनीहरुको अभिभावकको उपस्थिति देखिएको त्रिविले जनाएको छ । यस वर्ष ७३ हजार ७ सय ४९ जना विद्यार्थीहरु त्रिविबाट ग्राजुएट भएको त्रिविका उपकुलपति डा. शिवलाल भुसालले बताए ।
उनले भने, ‘यस वर्ष ७३ हजार ७ सय ४९ जना विद्यार्थीहरु त्रिविबाट दीक्षीत हुन योग्य रहेको जानकारी गराउन चाहान्छु । यसमध्ये अहिलेकै अवस्थामा दीक्षित हुन समारोह स्थलमै सहभागी हुन आउने १२ हजार ४ सय १५ जना विद्यार्थी रहेका छन् । समारोह स्थलमै प्रत्यक्ष उपस्थिति जनाई दीक्षित हुन चाहने विद्यार्थीको यो संख्या ठूलो हो ।’