राजाराम पौडेल,पोखरा । पोखरा–१७, रातोपैरोमा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको अवलोकन गर्नेको संख्या २८ लाख नाघेको छ । मंसिर महिनामा ३० हजार २ सय ७७ जनाले संग्रहालयको अवलोकन गरेपश्चात हालसम्म यहाँ जानेकाे संख्या २८ लाख २३ हजार ५९ पुगेको हो ।
अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयकी कार्यकारी निर्देशक निर्मला कुमारी न्यौपानेका अनुसार मंसिर महिनामा अवलोकन गर्नेमा सबैभन्दा धेरै विद्यार्थी थिए । मंसिर महिनामा मात्रै १९ हजार ३ सय ७६ विद्यार्थी यहाँ पुगे ।
यस्तै नेपाली ५ हजार ९२ जना, विदेशी पर्यटक २ हजार २ सय ६६, सार्क मुलुकका पर्यटक २ हजार १२, नेपालमा बसोबास गर्ने विदेशी १० जनाले संग्रहालयको अवलोकन गरेका छन् । यो महिनामा संग्रहालयमा रहेका बगैचा मात्र घुम्ने २ सय १६ जना तथा निःशुल्क अवलोकन गर्ने १ हजार ३ सय ५ जना थिए।
यसरी यो आर्थिक वर्षको पाँच महिना मध्यमा सबैभन्दा धेरै अवलोकनकर्ता मंसिर महिनामा पुगेको देखिन्छ । साउन महिनामा ६ हजार २ सय ६०, भाद्र महिनामा ६ हजार ४ सय ८, असोज महिनामा ७ हजार ९ सय २४ र कार्तिक महिनामा २३ हजार ५ सय ३२ जनाले संग्रहालयको अवलोकन गरेका थिए । मंसिर मसान्तसम्म ७४ हजार ४ सय २३ जनाले संग्रहालयको अवलोकन गरेका छन् । यो तथ्यांक फोटोसुट र भिडियो सुट गर्नेको बाहेक हो ।
मंसिर महिनामा पर्वतिय महोत्सव समेत आयोजना गरिएको थियो । आँठौ सस्करणको यो महोत्सवका कारण समेत यहाँ पुग्ने अवलोकनकर्ताको संख्यामा वृद्धि भएको हो ।
२०६० साल माघ २२ गतेबाट सञ्चालनमा आएकोे संग्रहालय स्थापना भएको आर्थिक वर्षमा १४ हजार २ सय १७ जनाले संग्रहालय अवलोकन गरेका थिए भने त्यसपछाडि हरेक आर्थिक वर्षमा संग्रहालयमा पुग्ने अवलोकनकर्ताको संख्या बढेको तथ्याकंले देखाउँछ ।
आर्थिक वर्ष ०६१/०६२ मा ३७ हजार १ सय २, ०६२/०६३ मा ५५ हजार ६ सय १९, ०६३/०६४ मा ७२ हजार २ सय ९३, ०६४/०६५ मा ८२ हजार ५ सय ९०, ०६५/०६६ मा ९५ हजार ५ सय २६, ०६६/०६७ मा १ लाख ३ हजार ४ सय ७८, ०६७/०६८ मा १ लाख ३५ हजार ३ सय ८३, ०६८/०६९ मा १ लाख ५३ हजार ३ सय ९०, ०६९/०७० मा १ लाख ५९ हजार ७ सय ५१, ०७०/०७१ मा १ लाख ७१ हजार २ सय ९० र ०७१/०७२ मा १ लाख ७८ हजार २ सय ९० जनाले अवलोकन गरेका थिए ।
अवलोकन गर्न पुग्नेको संख्या ०७२/०७३ मा भने घटेर १ लाख ३५ हजार ४ सय १४ जनामा झरेको थियो । पुनः ०७३/०७४ मा यो संख्या बढेर २ लाख ५२ हजार २४ पुग्यो ।
०७४/०७५ मा २ लाख ६१ हजार २ सय ५४, ०७५/०७६ मा हालसम्मकै उच्च २ लाख ६९ हजार ६ सय ३८ जनाले संग्रहालय अवलोकन गरेका थिए । ०७६/०७७ मा पुनः संख्या घटेर १ लाख ८९ हजार ७ सय १६ मा झर्यो । कोभिड १९ का कारण आर्थिक वर्ष ०७७/०७८ मा संख्या घटेर ४५ हजार ६ सय २, ०७८/०७९ मा १ लाख ३७ हजार ४ सय ८४, ०७९/०८० मा १ लाख ९७ हजार ९ सय ९९ जनाले अवलोकन गरेको संग्रहालयको तथ्याकंले देखाउँछ । यो सबै तथ्यांक फोटोसुट र भिडियो सुट बाहेकको हो ।
संग्रहालय अवलोकनका लागि छुट्टाछुट्टै अवलोकन शुल्क निर्धारण गरिएको छ । जस अनुसार नेपालीले १ सय ५ रुपैयाँ, विद्यार्थीले ५३ रुपैयाँ, नेपालमा बस्ने विदेशी र सार्क मुलुकबाट घुम्न आउने पर्यटकले २ सय ६३, अन्य विदेशीले ५ सय २५ रुपैयाँ शुल्क तिर्नुपर्नेछ । संग्रहालय परिसरमा रहेको गार्डेनमा मात्र अवलोकन गर्न ३२ रुपैयाँ तिर्नुपर्छ । फोटो तथा भिडियोसुटको लागि ५ हजार २ सय ५० र फिल्म छायाकंनको लागि ८ हजार ४ सय रुपैयाँ शुल्क लाग्नेछ ।
एक सय रोपनी क्षेत्रफलमा फैलिएर यो संग्रहालय हिमाल तथा हिमाली भेगको जनजीवनको बारेमा जानकारी लिन चाहनेहरुको लागि ज्ञान प्राप्त गर्ने उचित ठाउँ भएको कारण यहाँ पुग्न खोज्नेका संख्या र चासो बढ्दै गएको संग्रहालयकी कार्यकारी निर्देशक न्यौपानेको भनाई छ । हिमाली जनजीवन सहितका जानकारी लिन पुग्नेहरुलाई संग्रहालयमा जानकारी दिँदै अवलोकन गर्ने व्यवस्था मिलाइने भएकोले बुझ्न खोज्नेलाई सहजता हुने उनले खुलाइन् ।
मगर, किरातँ, छन्त्याल, गुरुङ, शेर्पा लगायतका विभिन्न समुदायको संस्कृतिलाई नजिकबाट चिनाउने व्यवस्था यहाँ छ । यसका अलावा जापान, ताइवान, स्लोभानीया, कोरीयाको संस्कृति समेत यहाँ हेर्न पाइन्छ । शान्त वातावरणमा रहेको संग्रहालय पोखराको एक प्रमुख पर्यटकीय गन्तव्यको रुपमा आफूलाई उभ्याउन सफल समेत भएको छ ।