काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालमा भइरहेको बसाइँ सराईको समस्यालाई व्यवस्थित गर्न तीनै तहका सरकारले सामूहिक प्रयास गर्नुपर्नेमा जोड दिएका छन् । यसो नगरे थप जटिल बन्दै जाने उनले बताएका छन् ।
मंगलबार जनसंख्या र आप्रवासन व्यवस्थापन सुदृढ गर्न काठमाडौंमा आयोजित राष्ट्रिय संवाद कार्यक्रममा उनले पन्ध्रौं योजना र राष्ट्रिय जनसंख्या नीति २०७२ मा बसाइँ सराईलाई यथोचित रुपमा सम्बोधन गर्ने भनिए पनि समस्याको समाधान गर्न नसकिएको भन्दै उनले तीनै तहका सरकारले समस्या समाधान गर्न पहल गर्न आवश्यक भएको बताए ।
उनले भने, ‘बसाइँ सराईमा देखिएका समस्या र चुनौतीलाई सामूहिक रुपमा समाधान नगर्ने हो भने समस्या थप जटिल हुने देखिन्छ । पन्ध्रौं योजना र राष्ट्रिय जनसंख्या नीति २०७२ मा बसाइँ सराईलाई सम्बोधन गर्ने प्रयास गरिए पनि समस्याको प्रभावकारी समाधान गर्न सकिएको छैन । संघीय, प्रादेशिक र स्थानीय गरी तिनै तहका सरकारहरू सजग हुन आवश्यक छ ।’
‘बसाइँ सराई बहुसरोकारयुक्त मुद्दा हो । कुनै एउटा निकायको सक्रियताबाट मात्र यो समस्या समाधान गर्न सम्भव छैन । यसमा सबैको साथ र बुझाई आवश्यक छ’ उनले भने ।