काठमाडौं । बंगलादेश क्रिकेट टिमका कप्तान शकिल अल हसनले अब नयाँ इनिङ्स सुरु गर्ने भएका छन् । नयाँ इनिङ्स खेलको भने होइन । उनले राजनीतिमा आउनका लागि चुनाव लड्ने निर्णय गरेका हुन् ।
सन् २०२४ को जनवरीमा हुने संसदीय निर्वाचनमा उनी आफ्नो गृहजिल्लाको सिटमा प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगबाट चुनावमा उठ्ने भएका छन् ।
पार्टीले उनलाई ‘मगुरा–१’ संसदीय क्षेत्रबाट चुनाबमा उम्मेदवार बनाउने निर्णय लिएको छ । यसका लागि साकिबले तयारी सुरु गरिसकेको पनि जनाइएको छ ।
बंगलादेशले नोभेम्बर २८ देखि डिसेम्बर १० सम्म न्यूजिल्याण्डसँग दुई खेलको टेष्ट सिरिज खेल्दैछ । यो टेस्ट सिरिज बंगलादेशमा मात्रै खेलिनेछ । यसपछि बंगलाको टोली सिधै न्युजिल्याण्ड भ्रमणका लागि प्रस्थान गर्नेछ । उनले तीन एकदिवसीय र तीन टी–२० खेलको शृंखला खेल्ने छन् । यो भ्रमण ३१ डिसेम्बरमा समाप्त हुनेछ । तर, शाकिबले यी खेलमा सहभागी हुने या नहुने स्पष्ट भइसकेको छैन ।
६ नोभेम्बरमा श्रीलंकाविरुद्धको विश्वकप खेलमा शकिबको औंला भाँचिएको थियो । उनको चोट अझै निको भइसकेको छैन । यस्तो अवस्थामा उनी कहिले मैदानमा फर्कनेछन् भन्ने टुंगो पनि लागेको छैन ।
राजनीतिमा प्रवेश गरेर चुनाव जिते भने शाकिब क्रिकेट खेल्छन् की खेल्दैनन् त्यो पनि पछि मात्रै थाहा हुने छ । यसअघि बंगलादेशमा पनि मशरफे मुर्तजाले सक्रिय क्रिकेटरका रूपमा चुनाव लडेका थिए र उनी सांसद बनेपछि पनि खेल्दै आएका थिए । शकिबले राजनीतिसँगै क्रिकेटलाई पनि निरन्तरता दिन सक्ने सम्भावना छ । तर, शाकिबले विश्वकपअघि नै न्यूजिल्याण्ड भ्रमणपछि एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा दिने भने पक्का छ ।