काठमाडौं । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले कोभिड संक्रमणबाट नेपालमा ज्यान गुमाउने पहिलो नेपाली सिन्धुपाल्चोककी सावित्री तिमिल्सिना चालिसेको कान्छो छोराको १२ कक्षा सम्मको पढाई खर्च ब्यहोर्ने भएका छन् ।
आमाको निधन हुँदा छोरा सफल नौ दिनका मात्रै थिए । बालक साढे तीन वर्षका भएका छन् । उनको आज टोखा नगरपालिका–९ गोंगबुस्थित कान्तिपुर इङ्लिस एकेडेमीमा मन्त्री बस्नेतले भर्ना गराएका छन् ।
सफलको कक्षा १२ सम्मको पठन पाठनको जिम्मा लिएका बस्नेतले आफूले कोभिडको समयमा मातृत्वको छायाँ गुमेपछि नै बालकलाई ठूलो भएपछि शैक्षिक जिम्मेवारी लिने प्रतिवद्धता उनका बुबासँग गरेको सम्झिए ।
‘बालक नौ दिनको हुँदा उनकी आमा बित्नुभयो । त्यही बेला हामीले १२ कक्षासम्म बच्लालाई निःशुल्क पढाउने व्यवस्था मिलाउँछौ र बालकको रोजगारीदेखि भविष्यको जिम्मा लिन्छौं भनेर बालकको बुबालाई भनेका थियौं । आज बालकलाई यहाँ पढ्ने व्यवस्था मिलाइएको छ । १२ कक्षासम्म पढाएर त्यसपछिको रोजगारीको व्यवस्था पनि हामीले गर्दिन्छौं’, बस्नेतले भने ।
सफलका बुबा बिमल चालिसेले मन्त्री बस्नेतले गरेको सहयोगप्रति आभार व्यक्त गरे । उनका जेठो छोरा पहिलादेखि नै सोही स्कूलमा पढ्दै आएका छन् । हाल कक्षा ८ मा रहेका बिमलका जेठो छोराको आमाको निधनपछि शैक्षिक जिम्मेवारी स्कूलका प्रधानाध्यापक मााधवप्रसाद अधिकारीले लिँदै आएको बताएका छन् ।
अब दुवै दाजुभाई आफ्नै स्कूलमा पढ्ने भएपछि प्रधानाध्यापक अधिकारी खुशी छन् । ‘आमाको निधन अघि नै जेठा छोरा यहीँ पढ्ने गर्दथे । कोभिडबाट ज्यान गुमाउने पहिलो महिला नै हाम्रै प्यारेन्ट्स हो । बच्चा र परिवारजनको मात्रै होइन त्यो दुर्भाग्य हाम्रो पनि हो भन्थ्यौं हामी । उहाँको निधनपछि जेठोलाई मैले पढाएको छु । कान्छोलाई मन्त्रीज्युले पढाउने हुनुभयो । दुवै बच्चा राम्रोसँग पढेर हुर्कने भए । १२ कक्षासम्म पढे भने भोलि सफल भएर परिवारलाई सहयोग र देशलाई सेवा गर्छन्’ अधिकारीले भने ।
नेपालमा कोभिड–१९ संक्रमणबाट नौ दिने सुत्केरीले पहिलो पटक २०७७ जेठ ३ गते ज्यान गुमाएकी थिइन् ।