काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहयोगमा भूकम्प प्रभावित क्षेत्रका बासिन्दालाई लक्षित गरी परामर्श दिन रेडियो कार्यक्रम शुरु गरिएको छ ।
जाजरकोटमा गत महिना गएको भूकम्पका कारण प्रभावित जनसमुदायलाई मनोपरामर्श सेवा आवश्यक रहेको निष्कर्ष निकाल्दै एनआरएनएले स्थानीय ‘रेडियो हाम्रो पाइला’ एफएमसँगको सहकार्यमा उक्त कार्यक्रम सञ्चालन गरेको हो ।
भूकम्पपछि राहत वितरणका लागि एनआरएनएको टोली जाजरकोट र रुकुमपश्चिम पुगेका बेला त्यहाँका जनसमुदाय एकदमै तनावमा रहेको पाएपछि विपद्को समयमा सबैभन्दा भरपर्दो माध्यम रेडियो भएकाले मनोपरामर्श कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको संघका अध्यक्ष राजेन्द्रकुमार (आरके) शर्माले बताए ।
अहिलेसम्म संस्कृतिविद् डा. चिन्तामणिनाथ योगी, मनोविद् गोपाल बोहरा, ओशो तपोवनका ध्यान प्रशिक्षक स्वामी आनन्द अर्हत लगायत ६ जना विज्ञसँगको अन्तरवार्ता प्रसार भइसकेको जनाइएको छ ।
यसैगरी चर्चित कलाकार मनोज गजुरेलसँगको कुराकानी छिट्टै प्रसार गरिने नेपाल पत्रकार महासंघ जाजरकोटका अध्यक्ष एवं रेडियो हाम्रो पाइलाका प्रबन्ध निर्देशक बालकुमार शर्माले बताए ।
आफ्ना प्रियजन गुमाएका भूकम्प पीडितलगायत समुदायका सबै सदस्यहरु लाभान्वित हुने गरी आफूहरुले कार्यक्रम निर्माण गरिरहेको र स्रोताहरुबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको उनले बताए ।
अहिले साँझ सवा ६ बजेदेखि १ घण्टा प्रसारण भइरहेको कार्यक्रम बिहान पनि प्रसारण गर्न माग आएको अध्यक्ष शर्माले जानकारी दिए । उनले कार्यक्रम उत्पादन गर्न उत्प्रेरणा र सहयोग प्रदान गरेकोमा एनआरएनएलाई धन्यवाद दिए ।
यसैगरी, काठमाडौँस्थित मनोपरामर्श दिने संस्था ‘ह्याप्पी माइन्ड्स’ ले रेडियो हाम्रो पाइला एफएमलाई कार्यक्रम उत्पादनमा सहयोग गर्ने प्रमुख कार्यकारी श्रीया गिरीले बताइन् ।
‘हामीले जाजरकोट तथा पश्चिम रुकुमका भूकम्प प्रभावितहरु, स्वास्थ्यकर्मी तथा उद्धारकर्ताहरुका लागि निशुल्क २४ घण्टे मनोपरामर्श सेवा सुरु गरेका छौं । ९८०१०२९५०० मा फोन गरेर निःशुल्क रुपमा परामर्श लिन सकिन्छ । रेडियो हाम्रो पाइला एफएमसँग सहकार्य गर्न पाउँदा हामीलाई खुसी लागेको छ,’ उनले भनिन् ।