काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर आइतबार बिहान अष्ट्रियातर्फ गएका छन् । इन्टरपोलको ९१ औँ महासभामा सहभागी हुन कुँवर नेतृत्वको टोली त्यसतर्फ गएका हुन् ।
अष्ट्रियाको भियनामा मंसिर १२ देखि १५ गतेसम्म इन्टरपोलको महासचिवालयले आयोजना गर्न लागेको कार्यक्रममा कुँवर सहभागी हुनेछन् ।
इन्टरपोलका सबै १९५ सदस्य राष्ट्रहरूका प्रतिनिधिहरू सहभागी हुने उक्त महासभामा इन्टरपोलका महत्वपूर्ण विषयहरूमा मतदानद्वारा निर्णय गरिने प्रावधान अनुसार नेपालले पनि मतदानमा भाग लिनेछ । साथै, प्रहरी महानिरीक्षक कुँवर नेतृत्वको प्रतिनिधि मण्डलले इन्टरपोलका उच्च अधिकारीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । सो क्रममा विविध विषयहरूमा छलफल तथा द्विपक्षीय बैठक हुने कार्यक्रम रहेको छ ।
कुँवरसँग महासभामा सहभागी हुन इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबरा र प्रहरी वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम नेपाली समेत गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
इन्टरपोलको १००औँ वार्षिकोत्सव मनाउने क्रममा सगरमाथाको सफल आरोहण गरी नेपालको राष्ट्रिय झण्डा, इन्टरपोलको झण्डा र नेपाल प्रहरीको झण्डा फहराउन सफल प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपाली इन्टरपोलको विशेष आह्वानमा महासभामा सहभागी हुन लागेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
उनीहरुलाई प्रहरी अतिरिक्त महानिरीक्ष, प्रहरी नायव महानिरीक्षकलगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुभकामना सहित विदाई गरे ।
कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने छन् ।