दुई पूर्व सैनिक अधिकारीलाई कोटमार्सलको फैसला

दुई पूर्व सैनिक अधिकारीलाई कोटमार्सलको फैसला

काठमाडौं । पाकिस्तानको एक सैन्य अदालतले दुई सेवानिवृत्त सेना अधिकारीको कोर्ट मार्शलको फैसला सुनाएको छ । अदालतले उनीहरुलाई देशद्रोहको अभियोगमा क्रमश १४ र १२ वर्षसम्म कैदको सजाय शनिबार सुनाएको छ ।

कारबाही भएका अधिकारीहरूमा सेवानिवृत्त मेजर आदिल फारुक रजा र सेवानिवृत्त क्याप्टेन हैदर रजा मेहदी रहेका छन् । दुवै अधिकारी विदेशमा बस्छन् र वरिष्ठ सैन्य नेतृत्वको आलोचक मानिन्छन् । सैनिक अदालतले सजाय सुनाएको बेला पनि दुवै अनुपस्थित रहेका थिए ।

मेजर रजा र क्याप्टेन मेहदीलाई पाकिस्तानी सेना ऐन, १९५२ अन्तर्गत सेनाका कर्मचारीहरूलाई देशद्रोह उक्साउने अभियोगमा सजाय सुनाइएको छ । उनले जासुसीसँग सम्बन्धित आधिकारिक गोप्य ऐन, १९२३ को प्रावधानहरू पनि उल्लङ्घन गरेको बताइएको छ । उक्त मुद्दामा रजालाई १४ वर्ष कैद र मेहदीलाई १२ वर्ष कैद सजाय सुनाइएको थियो । तर, दुवै अधिकारी पाकिस्तानमा नभएकाले सजाय भुक्तान भने उनीहरुले गर्ने छैनन् ।

दुवै अधिकारी विरुद्ध यो मुद्दा मे ९ को घटनापछि सुरु भएको थियो । त्यसदिन पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका अध्यक्ष इमरान खानलाई गिरफ्तार गरेपछि व्यापक हिंसा भड्किएको थियो र महत्वपूर्ण सैन्य प्रतिष्ठानमा आक्रमण भएको थियो । यस वर्ष जुनमा, रजा र मेहदी सहित चार जनालाई इस्लामावादको रमना पुलिस स्टेशनमा ९ मेको हिंसात्मक प्रदर्शनमा भीडलाई उक्साएको आरोपमा मुद्दा दायर गरिएको थियो ।

रजा र मेहदीमाथि युट्युबमा भिडियो अपलोड गरेको आरोप छ । रजा विशेष गरी इमरानको पार्टी पीटीआईको समर्थनमा पोस्ट गर्नका लागि परिचित छन् । गत वर्ष मात्रै उनी बेपत्ता भएको खबरका बीच लन्डनमा फेला परेका थिए । दुवैमाथि ९ मेको घटनाका सम्बन्धमा जनतालाई उक्साएको आरोप छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्