काठमाडौं । सञ्चार सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले आयुर्वेद चिकित्सा सेवालाई स्वास्थ्य सेवाको मूलधारका रुपमा स्थापित गर्न आवश्यक रहेको बताएकी छन् ।
शनिबार काठमाडौंमा सुरु अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
विद्यालयदेखि नै पाठ्यक्रममा आयुर्वेदको प्रयोगलाई व्यवस्थित गर्ने गरी पठनपाठन जरुरी रहेको भन्दै उनले अध्ययन र अनुसन्धानलाई व्यापक बनाएर आयुर्वेद चिकित्सा सेवालाई स्वास्थ्य सेवाको मूलधारको रुपमा स्थापित गर्न आवश्यक रहेको मन्त्री शर्माले बताइन् ।
उनले भनिन्, ‘विद्यालयदेखि नै पाठ्यक्रममा राखेर आयुर्वेदको परिचय मात्र होइन यसको प्रयोगलाई पनि व्यवस्थित गर्ने गरी पठनपाठन जरुरी छ । यसको अध्ययन र अनुसन्धानलाई व्यापक बनाउँदै आयुर्वेद चिकित्सा सेवालाई मूलधारको स्वास्थ्य सेवाको रुपमा स्थापित गरिनुपर्छ ।’
उनले आयुर्वेद क्षेत्रको विकासका लागि सरकारले नीति निर्माण र आवश्यक स्रोत साधनको उपलब्धतामा सहयोग गर्ने प्रतिवद्धता जनाइन् । कार्यान्वयनको सन्दर्भमा भने प्राविधिक जनशक्तिले योगदान गर्नुपर्ने उनको भनाई छ ।
उनले भनिन्, ‘यसलाई नेपाली सेवाको जीवनशैली बनाउन आवश्यक छ । आयुर्वेद क्षेत्रको विकासका लागि सरकारले नीतिनिर्माण र आवश्यक स्रोत साधनको उपलब्धतामा सहयोग गर्ने हो । कार्यान्वयनको सन्दर्भमा प्राविधिक जनशक्तिले नै योगदान गर्नुपर्छ ।’
आयुर्वेदिक, युनानी, अकुपञ्चर र प्राकृतिक चिकित्सा जस्ता बैकल्पिक उपचार पद्धतिलाई प्रोत्साहन गर्ने नीति नेपाल सरकाले लिएको उनको भनाई छ ।