लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

काठमाडौं । आजदेखि लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । यो वर्षको अभियानको नारा ‘लैंगिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ रहेको छ ।

सन् १९९१ देखि सुरु भएको लैंगिक हिंसाविरुद्ध विश्वव्यापी अभियान प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० अर्थात् यो वर्ष मंसिर ९ देखि २५ सम्म मनाइँदै छ । नेपालमा यो अभियान २०५४ सालदेखि देशव्यापीरुपमा सञ्चालन हुँदै आएको हो ।

सन् १९६० को नोभेम्बर २५ मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदी बहिनी पेट्रिया, मिनर्भा र मारियाको तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्ममतापूर्वक हत्या गरेको थियो । उक्त हत्यालाई लिंगका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिँदै उनीहरूको सम्मान र सम्झनामा १६ दिने अभियान मनाउन थालिएको हो ।

दिवस बर्सेनि मनाउने गरिए पनि लैंगिक हिंसाका घटना भने कम भएका छैनन् । अभियानले चेतना वृद्धिको काम भने गरेको छ । प्रविधिको विकाससँगै लैंगिक हिंसाका घटनाका स्वरुपहरु परिवर्तन भइरहँदा सुरक्षा निकायलाई छानबिन र पीडितलाई न्याय दिलाउने काममा चुनौती थपिएको छ ।

अभियान अवधिमा संघीय सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँगै प्रदेशस्तरमा सम्बद्ध मन्त्रालयहरुले तालिका बनाएर विभिन्न कार्यक्रम गर्दै आएका छन् । विभिन्न संघसंगठनहरुले १६ दिने अभियानलाई कर्मकान्डी बनाउनुको साटो सबै प्रकारका हिंसाविरुद्ध चेतना बढाउने कार्यक्रम वर्षैभरि हुनुपर्ने जनाउँदै आएका छन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्