काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले उपत्यकाका घनाबस्ती क्षेत्रको सडकको अवलोकन गरेका छन् ।
शुक्रबार उनीसहित मन्त्रालयका अधिकारी, सडक विभागका महानिर्देशक सुनिलबाबु ढकाल, सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीको टोलीले उपत्यका सडकहरुको अनुगमन गरेका हुन् । मन्त्री ज्वालाले गत असोज १७ गते आफ्नो क्षेत्राधिकारभित्र गर्ने उपत्यकाका सडकलाई खाल्डाखुल्डीमुक्त बनाउन निर्देशन दिएका थिए ।
निर्देशनपछि सुधारको अवस्थाबारे फिल्डमै पुगेर जानकारी लिएको मन्त्री ज्वालाले जानकारी दिए । मर्मतका काम सन्तोषजनक रुपमा अघि बढेको पाइएको उनले बताए । मन्त्रीसहितको टोलीले महाराजगञ्ज बुढानीलकण्ठ, बालाजु बाइपास, कलंकी–महाराजगञ्ज सडकको अनुगमन गरेको छ ।
बालाजु बाइपासको सडक राम्रो अवस्थामा भए पनि त्यहाँको चोकमा करिब ४० मिटर सडक विवादका कारण पिच नहुँदा आफूहरु धुलोबाट आक्रान्त भएको स्थानीयले टोलीसँग गुनासो गरे । उनीहरुले विवाद छिटो समाधान गरेर सडकमा कालोपत्रे गर्न उनीहरुले माग गरेका थिए ।
त्यस्तै टोलीले माछापोखरी मुड्खु, सामाखुसी, ग्राण्डी अस्पताल सडक, गल्कोपाखा–सामाखुसी सडकको सुधारको अवस्थाबारे पनि जानकारी लिएको छ । उपत्यकाका सडकलाई चुस्त दुरुस्त राख्न मातहतका निकायलाई निरन्तर निर्देशन दिँदै आएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।