काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले मेडिकल व्यवसायी दुर्गा प्रसाईं एमाले र माओवादी केन्द्रको पालनकर्ता भएको र उनले चलाएको अराजकतामा यी दुवै पार्टीको पनि हिस्सेदारी रहेको आरोप लगाएका छन् ।
नेपाली कांग्रेस अर्घाखाँचीको प्रथम जिल्ला सम्मेलनलाई शुक्रबार अर्घाखाँचीमा सम्बोधन गर्दै नेता महरले राजाका नाममा भइरहेको अराजकताको जिम्मेवार मार्सी चामलको भात खाएर फोटो प्रकाशन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भएको बताए ।
‘दुर्गा प्रसाईं एमाले र माओवादी केन्द्रको पालनकर्ता हो । आज अराजकताको जिम्मेवार मार्सी चामलको भात खाएर फोटो प्रकाशन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री केपी शर्मा ओली हो र हुनुपर्छ,’ उनले भने ।
ओली, प्रचण्ड र प्रसाईंबीचको अघोषित सम्बन्धका कारण अहिलेको स्थिति सिर्जना भएको महरले दाबी गरे ।
‘दुर्गा प्रसाईं हालको अवस्थामा पनि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीको बराबर सम्पर्कमा छन् । उनीहरूको दोहोरो उक्साहटमा प्रसाईंले आन्दोलन गरिरहेका हुन् । यसमा राजाको पनि अप्रत्यक्ष साथ होला । तर, बढी भूमिका प्रचण्ड–ओलीकै छ,’ उनले भने।
सत्ताको खेल र देशको ढुकुटीमा कसरी रजगज गर्ने भन्ने कम्युनिष्ट प्रपञ्चको हिस्सेदार हिजोदेखि नै दुर्गा प्रसाईं पनि रहेको महरको आरोप छ ।
‘ओलीले वर्तमान सत्ताका खिलाफमा दुर्गा प्रसाईंलाई प्रयोग गर्न चाहिरहेको देखिन्छ । प्रचण्ड दुर्गा प्रसाईंको माध्यमबाट ओलीलाई तर्साउन चाहन्छन् । प्रचण्ड र केपी ओलीका कमजोरीसँग प्रसाईं परिचित छन्,’ उनले भने ।
प्रचण्ड र ओलीका कमजोरी थाहा रहेकाले उनीहरू प्रसाईंको खिलाफमा जान नसक्दा अराजकताले प्रश्रय पाइराखेको महरले बताए ।
केही अराजक तत्व पुनः मुलुकमा द्वन्द्व निम्त्याएर अस्थिरता सिर्जना गर्न प्रयत्नरत रहेकाले कांग्रेस त्यसका खिलाफमा बलियो गरी उभिनुपर्ने उनले बताए ।
‘कांग्रेस पनि सुध्रिनुपर्ने छ । हाम्रा कमी कमजोरी छन् । कांग्रेसले आफैंबाट सुधारको प्रक्रिया थाल्नुपर्छ । जनताका लागि काम गर्नुपर्छ । प्रजातान्त्रिक आचरण अनुसार अगाडि बढ्ने वातावरण आफैंभित्र सिर्जना गर्न जरुरी छ । यसरी अगाडि बढे कांग्रेस र मुलुक दुवै समृद्ध हुने छन्,’ उनले भने
१८/२० वर्ष पहिले नेपालको परिस्थिति एकदमै जर्जर रहेकोमा कांग्रेसको नेतृत्वमा हाल प्राप्त उपलब्धिलाई गुम्न नदिन सबै जागरूक हुनुपर्ने महरले बताए ।
‘जनता हिंसा, हत्या र आतंकको त्रासमा बाँच्नुपर्ने अवस्था हामीले अन्त्य गरेका छौं । कांग्रेसकै नेतृत्वमा मुलुक सफल संघीयताको अभ्यासमा गएको छ । संविधान पाएका छौं । मुलुक शान्तिप्रक्रियामा छ । यो उपलब्धिको हामी सबैले रक्षा गर्नुपर्छ,’ उनले भने ।
सबैको साझा मुलुक बनाउनका लागि कांग्रेसको नेतृत्वमा शान्ति प्रक्रियाको गति अगाडि बढेको र पछिल्लो लोकतान्त्रिक गणतन्त्र स्थापित भएको कसैले भुल्न नहुने पनि उनले बताए ।
‘अहिलेको संविधानमा सबै वर्ग र समुदायका कुरा अटाएका छन् । सबैका विचार अटाएका छन् । यो सबैको सम्झौताको दस्ताबेज भएकाले अहिले तलमाथि गर्ने र आधारभूत विषय फेर्ने प्रयास गर्नु हुँदैन । त्यस्तो भयो भने फेरि देश दुर्घटनामा जान्छ । देश फेरि हिंसाको खाडलतर्फ जान सक्छ । यसलाई पनि नेपाली कांग्रेस जस्तो पार्टीले बुझ्नुपर्छ,’ उनले भने ।