काठमाडौं । स्वीकारोक्ति फाउन्डेसनले एघारौं वार्षिकोत्सवको उपलक्ष्यमा खुसी, शान्ति र सद्भाव फैलाउने उद्देश्यका साथ ‘स्वीकारोक्ति विश्व शान्ति यात्रा २०२३’ को आयोजना गरेको छ ।
फाउन्डेसनले शुक्रबार राजधानीमा यात्रा थालनीसँगै पत्रकार सम्मेलन गर्दै कार्यक्रम सार्वजनिक गरेको हो । फाउन्डेसनका अन्तर्राष्ट्रिय सम्पर्क, समन्वय तथा कार्यक्रम आयोजना प्रमुख कर्ण गुरुङले प्रकृतिमैत्री काम गरेर पर्यावरण बचाउने हेतुले विश्व यात्रा गर्न लागेको भन्दै २१ दिनको विशेष यात्रा तय गरेको बताए ।
‘संसारमा अब प्रकृतिमैत्री काम गर्नुपर्छ, रुखहरु बचाउनु पर्छ, संसारलाई बचाउनु पर्छ भन्ने हेतुले हामीले विश्व यात्रा गर्न लागेका हौं । जसलाई स्वीकारोक्ति विश्व शान्ति यात्रा नाम दिएका छौं,’ उनले भने, ‘यो हामीले नै सुरु गरेको हुँदा पहिलो प्राथमिकता नेपालीहरुलाई नै दिनुपर्छ र यो स्वीकारोक्ति भावको चेतना नेपालीबाट नै सुरु गर्नुपर्छ भनेर २१ दिनको विशेष यात्रा तय गरेका छौं ।’
वातावरण संरक्षणको सन्देश बोकेर शुक्रबार बिहान साइकलद्वारा काठमाडौँको पूर्वनिर्धारित स्थानहरूमा परिक्रमा गर्दै यात्रा सुरु भएको घोषणा पनि गरिएको छ ।
झापा, सुनसरी, मोरङ, इलामलगायत नेपालका विभिन्न जिल्ला हँुदै भारतको असम राज्यको गुवाहाटी, सिक्किमको गान्तोक र दार्जीलिङको सिलिगुडीमा कार्यक्रम गरेर टोली काठमाडौं आउने कार्यक्रम तालिका छ । काठमाडौंमा मंसिर २८/२९ गते दुई दिवसीय साहित्यिक तथा युवा शैक्षिक शिखर सम्मेलन पश्चात यात्राको समापन हुने जानकारी गुरुङले दिएका छन् ।
यात्रामा अन्य स्थानहरुमा हुने कार्यक्रमहरूमा कतै वृक्षरोपण, बहस, छलफल, विद्यार्थीहरुसँग कार्यशाला हुने पनि उनले जानकारी दिएका छन् ।
उल्लिखित यात्रासँगै फाउन्डेसनले नेपाली साहित्यका शिखर पुरुष लीलबहादुर क्षेत्रीलाई नेपाली राशि ६ लाख रहने ‘स्वीकारोक्ति सिद्धि पुरस्कार’ हस्तान्तरण गर्ने कार्यक्रम पनि छ ।
यो संस्था ‘अस्तित्वहरुको न्यायिक सम्बोधन’ भन्ने मूल विचार र मान्यता बोकेर बिगत एघार वर्ष देखी निरन्तर अस्तित्वहरुको न्यायिक सम्बोधन र मानव चेतना अभिवृद्धिको निम्ति संचालित रहेको छ ।