विपिन जोशीको रिहाइका लागि पहल गर्न कतारी विदेश राज्यमन्त्रीलाई आग्रह

विपिन जोशीको रिहाइका लागि पहल गर्न कतारी विदेश राज्यमन्त्रीलाई आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीलाई हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका छन् ।

परराष्ट्र मन्त्रालयमा शुक्रबार भएको अल–मुखैरीसँगको भेटका क्रममा मन्त्री साउदले कञ्चनपुरका जोशीलाई हमासको नियन्त्रणबाट रिहाइका लागि पहल गरिदिन आग्रह गरेको परराष्ट्र सचिवालयले जनाएको हो ।

विद्रोही समूह हमासले शुक्रबारबाट रिहा गर्न लागिएको भनिएका ५० जनाको समूहमै जोशीलाई पनि रिहाइ गराइदिन विशेष अनुरोध गरिएको मन्त्री साउदका प्रमुख स्वकीय सचिव दीपकराज जोशीले बताए ।

जवाफमा कतारी विदेश राज्यमन्त्री मुखैरीले रिहाइका लागि सहयोग गर्ने आश्वासन दिएको जोशीले जानकारी दिए ।

भेटका क्रममा परराष्ट्रमन्त्री साउदले गाजामा युद्धविराम र हमासले बन्धक बनाएका नागरिकको रिहाइका लागि कतार सरकारले निर्वाह गरेको मध्यस्थकर्ताको भूमिकाको प्रशंसा गरेका छन् ।

यसअघि बिहीबार मन्त्री साउदले जोशीको रिहाइका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर छलफल गरेका थिए ।

भेटका क्रममा अल–मुखैरी र साउदबीच रोजगारी, व्यापार तथा लगानी आदानप्रदान, सहकार्यको विकास र उच्चस्तरीय भ्रमणलगायत द्धिपक्षीय हितका विषयमा छलफल भएको बताइएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्