काठमाडौं । इंग्ल्याण्डका तीब्र गतिका बलर जोस टंगले चोटका कारण वेस्टइन्डिजविरुद्धको सिरिज गुमाउने भएका छन् । इंग्ल्याडको टोलीले एक दिवसीय क्रिकेटका लागि वेस्टइन्डिजको भ्रमण गर्ने तालिका रहेको छ । तर, जोस टंग भने चोटका कारण प्रतियोगिताबाट बाहिरिएका छन् ।
उनले एक दिवसीय क्रिकेटमा डेब्यु गर्ने अपेक्षा गरिएको थियो । युएईमा रहेको इङ्ल्यान्ड लायन्सको प्रशिक्षण शिविरमा चोट लागेको टंग वेस्ट इन्डिज भ्रमणमा जान पाउने छैनन् ।
दायाँ हाते फास्ट बलर जोस टंगले यसै वर्ष इङ्ल्यान्डका लागि टेस्टमा डेब्यू गरेका थिए । अस्ट्रेलियाविरुद्ध एसेजमा मौका पाएका उनले २ खेलमा १० विकेट लिएका थिए । उनले अहिलेसम्म १५ लिस्ट ए र त्यति नै टी–२० घरेलु खेल खेलेका छन् ।
जोश टंग सिरिजबाट बाहिर भएपछि इंग्ल्याण्डले डिसेम्बर ३ बाट सुरु हुने एकदिवसीय शृंखलाका लागि तीन एकदिवसीय खेलमा दुई विकेट लिएका तीब्र गतिका बलर म्याथ्यु पोट्सलाई टोलीमा समावेश गरेको छ । यद्यपि, एकदिवसीय खेलपछि डिसेम्बर १२ र २१ बीचमा खेलिने ५ खेलको टी २० शृंखलाको टिम भने अझै घोषणा गरिएको छैन ।
एक दिवसीय क्रिकेटमा इंग्ल्यान्ड टोलीमा आफ्नो स्थान पक्का गर्न पोट्सका लागि यो राम्रो अवसर हुनेछ । उनले २०२२ मा एकदिवसीय क्रिकेटमा डेब्यू गरेका थिए र यो वर्ष विश्वकप अघि आयरल्याण्ड विरुद्ध खेलिएको एकदिवसीय शृंखलामा सहभागी भएका थिए ।
इंग्ल्याण्ड टोलीमा जोस बटलर कप्तान, रेहान अहमद, गुस एट्किन्सन, ह्यारी ब्रुक, ब्रायडन कार्स, जाक क्राउली, साम कुरान, बेन डकेट, टम हार्टले, विल ज्याक, लियाम लिभिङस्टोन, ओली पोप, फिल साल्ट, म्याथ्यु पोट्स, जोन टर्नर छन्।